मोटरसाईकललाई ठक्कर दिएर भागेको ट्रक पन्ध्र दिनसम्म पनि फेला परेन, प्रहरी पीडितलाई भन्छ– खोजेर ल्याऊ
इटहरी– पन्ध्र दिनअघि धरान उपमहानगरपालिका–२, माछाभौडी नजिकै २ जना सवार मोटरसाईकललाई ठक्कर दिएर भागेको ट्रक प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन। ट्रक नियन्त्रणमा नआउँदा दुर्घटनामा परेका घाईतेहरुको उपचारमा समेत समस्या भएको छ।
२५ भदौको बेलुका करिव ९ बजे धनकुटातिरबाट इटहरीतर्फ आउँदै गरेको अल्फावेट नखुलेको १४४८ को ट्रकले धरान उपमहानगरपालिका– १ की मीना साह र रोसन भट्टराई सवार प्र. १ ०२ ०४० प ८६२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर भागेको थियो।
दुर्घटनामा ३५ वर्षीया मीना र ३० वर्षीय रोसन दुवै गम्भिर घाईते भएका थिए। मीनाको खुट्टामा चोट लागेको छ भने एउटा हात भाँचिएको छ। मोटरसाइकल चालक रोसनको हात तथा खुट्टामा गम्भीर चोट छ। उनीहरुको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ।
आर्थिक अवस्था कमजोर भएका कारण मीनाको उपचारमा समेत समस्या भएको छ। चारवटी छोरीसहित मीनालाई छोडेर उनका श्रीमान अलग्गै बस्छन्। काम गरेर छोराछोरीको पालन पोषण गरिरहेकी उनी आफैं थला परेपछि परिवारको विचल्ली भएको छ।
यता, दुर्घटनाको विषयमा मीनाको परिवारले तुरुन्तै ट्राफिक कार्यालय धरानमा खबर गरेको थियो। तर, ट्रक फरार भईसकेकाले नियन्त्रणमा लिन नसकिएको ट्राफिक प्रहरीले जनाएको छ। त्यसपछि मीना र रोसनको परिवारले २६ भदौमा इलाका प्रहरी कार्यालय धरानमा जाहेरी समेत दिएका छन्। त्यसपछि नम्वर स्पष्ट नभएको भन्दै प्रहरी पन्सिदै आएको पीडितहरु वताउँछन्।
ट्राफिक प्रहरी कार्यालय धरानको सीसीटीभी फुटेजमा अल्फावेट नखुलेको १४४८ नम्बरको ट्रक स्पष्ट देखिएको छ। ट्रकको चालक बस्ने सिटको माथिको भागमा अंग्रजी अक्षरबाट ‘मकालु’ लेखिएको छ। चालकले हरियो रङको टिसर्ट लगाएका छन्। यति हुँदा पनि प्रहरीले वेवास्ता गरेको उनीहरुको भनाई छ।
‘हामीले पटक–पटक प्रहरी कार्यालयमै गएर न्याय मागेका छौं। निवेदन पनि दिएका छौं। तर, अनुसन्धान भइरहेको छ भन्ने वाहेक अर्को जवाफ सुन्न पाएको छैन’ मीना भन्छिन्–‘पहुँच नपुगेर हो कि ? प्रहरीले हामीलाई टेरेको छैन।’ उल्टै ‘इटहरी, तरहरातिरको सीसीटीभीमा देखिइहाल्छ कि खोजेर ल्याउनुहोस्’ भन्दै प्रहरी काम अह्राउन थालेको मीनाको भनाई छ।
ट्राफिक प्रहरी कार्यालयका इन्सपेक्टर वीरेन्द्र सिंह थापाले रातिको समयमा दुर्घटना भएको र समयमै प्रहरीमा खबर नआइपुगेकाले ट्रक भागेको बताए। ट्रकको नम्बर स्पष्ट नभएकाले नियन्त्रण गर्न कठिन भएको उनको भनाई छ।