बीपी राजमार्ग भोलीदेखि सञ्चालमा आउने, भौतिक मन्त्रालयका सचिव भन्छन–राजमार्ग खुलेपछि दसैं मान्ने
काठमाडौँ– रोसी खोलाको बाढी र पहिरोले क्षतविक्षेत बनाएपछि अवरूद्ध भएको बिपी राजमार्ग शुक्रबारदेखि संचालनमा आउने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत शुक्रबारदेखि राजमार्ग संचालनमा आउने बताएका छन्। बिहीबार दिउँसो भौतिक पूर्वधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग टेलिफोन वार्ता गरी जानकारी लिएको बताउँदै उनले भोलीदेखि वीपी राजमार्ग सञ्चालमा आउने जनाएका हुन।
राजमार्ग सुचारु गराउने कामका लागि सचिव शर्मा फिल्डमै खटिएका छन्। ‘उहाँ सडक मर्मत गर्ने प्राविधिक टोलीसहित रोशी गाउँपालिका–९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ। उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बिपी राजमार्ग सञ्चालनमा आउने छ,’ उनले लेखेका छन्–‘आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ। भोलि राजमार्ग खुलेपछि मात्र दसैं मान्ने बताउनुभयो। सडक खुलाउन अहोरात्र लाग्नु भएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवाद!’
१० र ११ असोजमा आएको अविरल वर्षापछिको बाढी–पहिरोले विभिन्न ठाउँका सडकहरू अवरोध बनेका थिए। अधिकांस राजमार्गहरू सञ्चालनमा आइसकेका छन्। बिपी राजमार्ग भने धेरै नै क्षती भएका कारण संचालनमा आउन सकेको छैन।

