दुर्गा प्रसाईँले कम्बोडियाका नेपालीको टाउकोमा थुपारे आफुविरुद्धको आरोप, के छ वयानमा ?

काठमाडौँ– विद्युतीय कारोबार ऐन अन्तर्गको कसुरमा पक्राउ परेका झापाका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफु विरुद्ध लागेको आरोपको सम्पूर्ण जिम्मेवारी कम्बोडियामा वस्ने नेपालीमाथि थुपारी दिएका छन्।
प्रधानमन्त्री केपी ओलीले कम्बोडियामा लगानी गरेको भन्दै अफवाह फैलाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंलाई उनकै घर भक्तपुरबाट पक्राउ गरेको थियो। प्रसाईले भनेका थिए ‘यहाँका नेताहरूको पैसा कम्बोडिया, मंगोलिया, तुर्किमेनिस्तान, साउथ अफ्रिका, केन्या, दुवई, सिंगापुरमा छ। मसँग प्रमाण छ लिखित सिग्नेचर भएका पेपरहरू छन्, मसँग बुझ्नु भो? मलाई यिनीहरुले मारे भने अर्कै कुरो हो नभए दुर्गा प्रसाईं बिग्दैन, संसारमा दुर्गा प्रसाई मर्छ, बिग्दैन। संसारमा दुर्गा प्रसाईं झुक्छ, तर बिग्दैन। किनभने मैले नेपालीहरू रोएको, नेपाली चेलिबेटीहरू रोको देखेको छु।’
उनले प्रधानमन्त्री ओलीले स्मार्ट एक्जिएटा कम्पनी लिमिटेड कम्बोडियामा लगानी गरेको रकम सहितको कागजातहरू भन्दै कतिपय डकुमेन्टहरु देखाएका थिए। ‘ल हेनुहोस केपी ओलीको कम्बोडियामा लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र’ भन्ने स्टाट्ससहित फेसबुकमा भीडीओसमेत अपलोड गरेका थिए।
प्रहरीसँगको वयानका क्रममा भने कम्बोडियामै बस्ने नेपालीले पठाएको विवरणहरु आफूले सार्वजनिक गरेको बताएका छन्। उनले भनेका छन्– ‘हाल नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा २१ करोड युएस डलर (अन्दाजी साढे ३२ अर्ब) लगानी रहेको बारेमा बारम्बार नेपाली तथा विदेशी मिडियाले समाचार लेखे। त्यस विषयमा केलाउने बुझ्ने गर्दा एक जना कम्बोडियामा बस्ने नेपालीले मैले फोन गरेर प्रमाण छ भने।’
प्रमाण के छ ? भनेर सोध्दा ‘ओली बिजनेस फर्मको लागि १४ मे २०१९ मा कम्बोडियामा जाँदा भाग लिएको अवस्थाको भिडियो र सो कम्पनीको सेयर खरिद गरेको पैसा खुलेको कागजहरू छ भनेकोले मैले ह्वाट्स एपमा पठाई देउ भनेको हो’ उनले भनेका छन्–‘यो प्रमाणहरू मैले बनाएको कागजात, भिडियो तथा फोटोहरू होइन।’ उनले त्यस वेला भने आफुले करिव सवा करोड रुपैयाँ खर्च गरेर प्रमाण जुटाएको वताएका थिए।
‘गरिब, विकासोन्मुख हाम्रो देशका प्रधानमन्त्रीसँग कम्बोडियामा लगानी गर्ने यत्रो पैसा कहाँबाट आउँछ, नत हाम्रो देशका प्रधानमन्त्री ठुलो ब्यापारी नत ठुलो व्यवसायी नत ठुलो उद्योगी यत्रो रकम किन, कसरी लगानी गरे भन्ने विषयमा जनता सामू प्रष्ट पारौं भन्ने उदेश्यले मैले विभिन्न मिडियाका साथीहरूलाई बोलाई प्रेसमिट गरेको थिएँ।’ उनले वयानमा भनेका छन्।
प्रहरीले प्रसाई विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गको कसुरमा काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता गराई सकेको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै साइबर अपराधको कसुरमा ५ वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवानाको माग दावी गरेको छ।
यसका साथै प्रसाईंविरुद्ध यसअघि पनि साइबरको मुद्दा चलेका पटके कसुरदार भन्दै थप सजाय समेत माग गरिएको छ। पटेक कसुरदारको हकमा डेढी सजाय हुने व्यवस्था भएकाले प्रसाईंविरुद्ध साढे ७ वर्षको कैद सजाय माग गर्दै मुद्दा दायर भएको छ।
यता, भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपालका व्यापारीहरुलाई धम्क्याएको आरोपमा आपराधिक लाभ र संगठित अपराधको कसुरमा पनि प्रसाईंविरुद्ध सीआईबीले अनुसन्धान अघि बढाएको छ।