कांग्रेस नेताविरुद्ध बहिनीको नैतिकतामाथि बलात्कार गरेको आरोप, भाई मानव वेचविखन आरोपमा पक्राउ

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपाली आफनै गृहनगर र आफन्तबाटै आलोचित हुन थालेका छन्। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका निवासी नेपाली विरुद्ध उनकै वहिनी ज्वाईँ समेत विपक्षमा उत्रिएका छन्।
शनिबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवम् कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीसँगै गृह नगर आठबिसकोट पुगेपछि उनलाई उनकै बहिनी–ज्वाइँ यज्ञबहादुर परियारले सामाजिक सञ्जाल फेसबुकमा सत्तोसराप गरेका छन्।
यज्ञबहादुरले आफ्नो जेठान अन्तर्राष्ट्रिय दलाल र मानव तस्कर भएको भन्दै गाली गरेका छन्। विदेश पठाइदिने बहानामा आफूलगायत दर्जनौं युवाको लाखौँ रकम कुम्ल्याएर घर न घाटको बनाएको आरोप लगाएका उनले ३ वर्षदेखि पैसा खाएर भागेका नेपाली जहाँ भेटिन्छ त्यहीँ अन्त्य गर्नलाई कफन बाँधेर हिँडेको जनाएका छन्।
‘आफ्नै बहिनीको नैतिकतामाथि बलात्कार गरिहिँड्नेले अरूको झन के बाँकी होला र?’– उनले मानबहादुरलाई प्रश्न गरेका छन्।
उनी मात्र होईन, आठबिसकोटको राडीमा भएको खुला आमसभामा समेत कांग्रैसका कार्यकर्ताले नेपालीलाई तथानाम गरेको खुलेको छ। नेपाली अतिथि बनेर स्टेजमा विकास निर्माण, कांग्रेसको योजनाको भाषण गरिरहँदा सहभागीको अन्तिमतिर रहेका कार्यकर्ताले यो अपराधी हो, ठग, हो भन्दै विरोध जनाएका थिए।
मानवहादुरका भाइ निरज नेपाली पनि मानव तस्करी गर्ने गिरोहमा संलग्न भएको पाइएको आरोप छ। अमेरिकाको सपना देखाएर मानव बेचबिखन गरेको भन्दै जाहेरी परेपछि उनलाई २५ मंसिरमा युएईबाट पक्राउ गरेर नेपाल ल्याइएको छ। जाहेरवालासँग उनले १४ लाख ८० हजार रूपैयाँ लिएको प्रहरीको भनाइ छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी भावेश रिमालका अनुसार निरजलाई इन्टरपोलको सहयोगमा पक्राउ गरिएको हो। अमेरिकामा ६ लाखसम्म तलब हुन्छ भनेर पीडितलाई दुबईमा लगी बन्धक बनाएको आरोप उनीमाथि छ। मानव तस्करी धन्दा बाहिरिएपछि उनी दुबईमा गएर लुकेका थिए।