मेलामा भएको झगडा छुट्याउन जाँदा पेस्तोल फेला परेपछि सिरहाका दुई युवक पक्राउ

लहान– सिरहाको गोलबजार स्थित मैनावती खोलामा लागेको भव्री मेलामा झगडा छुट्याउन पुगेको प्रहरीले पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ।
गोलबजार नगरपालिका–१२, बेतौनाका १९ वर्षीय प्रमोद ठाकुर र १९ वर्षकै विष्णुकुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो। प्रमोदको साथबाट १ थान कटुवा पेस्तोल र विष्णुको साथबाट फलामको नक वरामद भएको छ।
उनीहरु विरुद्ध हातहतियार सम्बन्धी कसुरमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। सिरहा प्रहरीका डीएसपी विरेन्द्रकुमार पासवानका अनुसार गोलबजार नगरपालिका–११, बल्कवा स्थित मैनाबती खोलामा मेला लागेको थियो।
मेलामा केही ब्यक्तिहरू झगडा गरिरहेको देखेपछि मेला सुरक्षाका लागि खटिएको इलाका प्रहरी कार्यालय गोलबजारको टोली त्यहाँ पुगेको थियो। प्रहरीलाई देखेपछि प्रमोद र विष्णु भाग्न खोज्दै थिए। त्यसपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर खानतलासी गर्दा हतियार बरामद भएको हो।