उदयपुरमा जन्मदिनको भोज खाँदा १३ बालबालिकासहित २७ जना बिरामी

गाईघाट (उदयपुर)– उदयपुरको त्रियुगा नगरपालिका–७ नमुना चौकमा बिहीबार बेलुकी आयोजना गरिएको जन्मदिनको भोज खाँदा १३ बालबालिकासहित २७ जना बिरामी परेका छन्। जितेन्द्र राईको घरमा आयोजित ‘बर्थडे पार्टी’मा सहभागी स्थानीयहरूलाई भोजपछि पेट गडबडी, झाडापखाला र बान्ता हुने समस्या सुरु भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी केदारमान दोङका अनुसार बिरामीमध्ये ३ पुरुष, ११ महिला, ५ बालक र ८ बालिका रहेका छन्। उनीहरुको जिल्ला अस्पताल गाईघाटसहित नजिकका मेडिकलमा उपचार भएको छ।

राईले बिहीबार साँझ छोराको जन्मदिनको अवसर पारेर वर्थडे पाटी आयोजना गरेका थिए। जसमा छिमेकी र आफन्तलाई बोलाईएको थियो। बिहान पूजापाठ र बेलुका सेल रोटी, अचार, पुरी, बुनिया, पुवा, तरकारी र मोहीसहितको भव्य भोज थियो। भोज खाएपछि केही समयमै अधिकांश सहभागीमा स्वास्थ्य समस्या देखिएको थियो।

उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार सबैलाई ‘फुड पोइजन’ भएको पुष्टि भएको छ। बिहीबार रातिसम्ममा जिल्ला अस्पतालमा मात्रै २७ जना भर्ना भएका थिए। शुक्रबार बिहानसम्म २४ जना निको भएर डिस्चार्ज भए पनि एक बालकसहित ३ जनाको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

डिएसपी दोङका अनुसार कुन परिकार विषालु भएको हो भन्ने यकिन भइसकेको छैन। मैदा, तेल, अचार वा अन्य खाद्य सामग्रीको गुणस्तरमा समस्या हुँदा यस्तो घटना हुने गरेको बताइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग गाईघाटका प्रमुख मेनस श्रेष्ठका अनुसार प्रायः अचारमा विषाक्त पदार्थ रहने सम्भावना बढी हुन्छ। बासी खानेकुरा पनि स्वास्थ्यका लागि हानिकारक हुने उनले वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट