‘म मन्त्री होइन’ भन्ने महावीर पुनले आफैंले लेखे ‘म मन्त्री…’

काठमाडौँ— जेनजी आन्दोलनको लहरबाट शिक्षा मन्त्रालयसम्म पुगेका महावीर पुनले आफूलाई ‘मन्त्री नभन्न’ आग्रह गरेका केही दिनमै ‘म मन्त्रीले’ भनेर निर्णय सार्वजनिक गर्न थालेका छन्। यसले सामाजिक सञ्जालमा व्यंग्य र आलोचना सुरु भएको छ।

इलामका सडकदेखि शिक्षामन्त्रालयसम्मको उनको यात्रा एउटा विरोधाभासको कथा जस्तै बनिरहेको छ। इलाममा किताब बेच्दै सामाजिक परिवर्तनको सपना बोकेका पुनले मन्त्रीको शपथ लिँदा पत्रकारहरूलाई भनेका थिए— ‘म मन्त्री होइन, मलाई मन्त्री नभन्नुहोस्। म त एउटा जिम्मेवारी पूरा गर्न आएको मानिस हुँ।’ तर, शुक्रबार विहान उनको फेसबुकमा आएको स्ट्याटसमा उनले स्पष्ट रूपमा लेखेका छन— ‘म मन्त्रीले हिजो गरेका छलफल, निर्णय तथा निर्देशन।’

फेसबुकमा सार्वजनिक गरिएको उक्त स्ट्याटसमा पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका नाममा पाँचवटा महत्वपूर्ण निर्णय र निर्देशन उल्लेख गरेका छन्। तीमध्ये पहिलो निर्णय नेपालमै क्यान्सर उपचारका लागि प्रयोग हुने रेडियोधर्मी औषधि उत्पादन गर्ने आणविक अनुसन्धान केन्द्र खोल्ने तयारीबारे हो। उनले औषधीय प्रयोजनका लागि मात्रै यस्तो केन्द्र खोल्ने र तत्काल प्रक्रिया अघि बढाउने निर्णय लिएको बताएका छन्।

दोस्रो निर्णयमा उनले सीटीईभीटीको पुनःसंरचना गर्ने, त्यहाँबाट दक्ष र सक्षम जनशक्ति उत्पादन गर्न सक्ने कार्यदल तत्काल गठन गर्ने योजना सार्वजनिक गरेका छन्। तेस्रो बुँदामा उनले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) मा वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनलाई उपलब्धिमूलक बनाउने, प्रतिभाशाली नेपालीलाई आकर्षित गर्ने र संस्थाको पुनःसंरचना गर्ने कार्यदल बनाउने निर्णय गरेका छन्।

चौथो निर्णयका रूपमा उनले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्तिबारे छानविन समिति (२०७८) ले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको बताएका छन्। यो निर्णयले लामो समयदेखि लुकाइएको टीयूको सम्पत्ति विवाद पुनः सतहमा ल्याउने संकेत गरेको छ।

पाँचौं निर्णय संस्कृत विश्वविद्यालयमा रिक्त रहेका सेवा आयोगका पदाधिकारीहरूलाई नियमअनुसार तुरुन्त नियुक्त गर्ने सम्बन्धी छ। जसले लामो समयदेखि अवरुद्ध प्रशासनिक प्रक्रियामा गतिशीलता ल्याउने सम्भावना देखिएको छ।

पुनका यी निर्णयहरू प्रभावकारी र आवश्यक देखिएका छन्। ‘म मन्त्री होइन’ भन्ने व्यक्ति अहिले ‘म मन्त्रीले गरेको निर्णय’ भनेर आदेश जारी गर्न थालेपछि उनको पूर्व प्रतिबद्धता र व्यवहारबीचको विरोधाभास सार्वजनिक चासोको विषय बनेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट