बालेन निकट पत्रकारको रहस्यमय अन्त्यः भिडियो छैन, विवरण छैन, किन लुकाइँदैछ सत्य ?

काठमाडौँ — रास्वपा नेता तथा झापा–५ का उम्मेदवार बालेन्द्र (बालेन) साहसँगै चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधनले यतिबेला सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म अस्वाभाविक तरंग पैदा गरेको छ। अस्पतालले ‘ब्रेन ह्यामरेज’ भन्दै मृत्युको कारण सार्वजनिक गरे पनि घटनाक्रमको क्रम, सूचनाको अपारदर्शिता र परिवारको असन्तुष्टिले यो मृत्यु सामान्य चिकित्सकीय घटना मात्रै थियो भन्ने सरकारी व्याख्यामा गम्भीर प्रश्नचिह्न खडा गरेको छ।

नुवाकोट घर भएका सिटौला केही दिनअघि बालेनको चुनावी प्रचार टोलीसँगै अछाम पुगेका थिए। त्यही क्रममा उनी एक्कासि बेहोस भएको बताइएको छ। त्यसपछि स्थानीय अस्पताल लगिएको दाबी गरियो, तर त्यसको कुनै दृश्य, तस्बिर वा भिडियो सार्वजनिक भएन। पछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका सिटौलाको ग्राण्डी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको सूचना आयो। तर अस्पतालले यथार्थ अवस्था स्पष्ट नबताएको भन्दै परिवारजन आफैंले असन्तुष्टि व्यक्त गरेका छन्।

प्रश्न यतिमै रोकिँदैन। बालेनको सामान्य चुनावी गतिविधिसम्म सामाजिक सञ्जालमा मिनेट–मिनेटमा देखिने देशमा, उनीसँगै रहेका पत्रकार बिरामी पर्दा एक झलक दृश्य किन सार्वजनिक भएन ? बालेनले आगो तापेको भिडियो आयो, मोटरसाइकल कुदाएको भिडियो आयो, तर सिटौला एम्बुलेन्समा लगिएको, उपचार भइरहेको वा प्रारम्भिक अवस्था देखाउने कुनै प्रमाण किन देखिएन ?

यही गुप्त कृयाकलापले आशंकालाई मलजल गरिरहेको छ। सामाजिक सञ्जालमा अशोक तामाङले सिटौलाको मृत्यु ‘अप्राकृतिक’ भएको दाबी गरेका छन्। उनले भनेका छन्–‘उनी मरेका होइनन्, मारिएका हुन्।’ यस्तै दिलनिशानी मगरले सिटौलाको अछाममै मृत्यु भइसकेको र काठमाडौं ल्याएर ‘प्राकृतिक’ देखाउने प्रयास गरिएको आशंका व्यक्त गरेका छन्। यद्यपि यी दाबीहरू प्रमाणित छैनन्, तर घटनाको अपारदर्शिताले यस्ता आरोपहरूलाई बलियो आधार दिएको छ।

कतिपयले यो घटनालाई ‘संयोगभन्दा बढी’ भन्दै प्रश्न उठाएका छन्। घरबाट सामान्य अवस्थामा निस्केका व्यक्ति केही घण्टामै ब्रेन ह्यामरेजको सिकार कसरी भए ? उनी कस्तो तनाव, दबाब वा परिस्थितिमा थिए ? अस्पतालले आफन्तलाई तुरुन्त भेट्न किन दिएन ? पोस्टमार्टम रिपोर्ट परिवारले पूर्ण रूपमा पायो कि पाएन ? यी आधारभूत प्रश्नहरूको स्पष्ट जवाफ कसैले दिएको छैन।

झन् संवेदनशील पक्ष भनेको, सिटौलाको मोबाइल, कल डिटेल, लोकेसन डाटा र अन्तिम २४ घण्टाको गतिविधिबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। उनी अन्तिम समयमा को–कोसँग थिए ? कोसँग कुरा गरेका थिए ? कुनै दबाब, धम्की वा संवेदनशील सूचनासँग जोडिएका थिए कि थिएनन् ? यी सबै कुरा अनुसन्धानकै विषय हुनुपर्ने हो, तर सार्वजनिक रूपमा यस वारे कसैले बोलेको सुनिँदैन।

सिटौला विगत लामो समयदेखि बालेनको निकट मानिन्थे। बालेनपत्नी सविना काफ्लेको लगानी रहेको भनिएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ घोषणा भएदेखि उनी मिडिया कोअर्डिनेटरका रूपमा सक्रिय थिए। चुनावी प्रचारमा समेत उनी बालेनको छायाझैँ देखिन्थे। यस्तो निकट व्यक्तिको अचानक मृत्यु हुनु र त्यसबारे स्पष्टता नआउनुले राजनीतिक र नैतिक दुवै तहमा प्रश्न उठ्नु स्वाभाविक हो।

यो समाचार कसैलाई दोषी ठहर गर्ने प्रयास होइन। तर लोकतन्त्रमा शंका उठाउनु अपराध होइन, कर्तव्य हो। विशेषगरी जब घटना सार्वजनिक व्यक्तिसँग जोडिएको हुन्छ, तब पारदर्शिता झन् अनिवार्य हुन्छ। मृत्यु प्राकृतिक हो भने प्रमाण सार्वजनिक गरियोस्, पोस्टमार्टम रिपोर्ट खुलाइयोस्, स्वतन्त्र छानबिन गरियोस् र सबै भ्रम हटाइयोस्। तर हतारमा ‘सामान्य मृत्यु’ भन्दै फाइल बन्द गर्ने प्रवृत्तिले उल्टै आशंका बढाउँछ।

दिनेश सिटौला अब फर्केर आउने छैनन्। तर उनको मृत्युले उठाएका प्रश्नहरू अझै जिउँदै छन्। ती प्रश्नहरूको जवाफ नआएसम्म यो घटना एउटा साधारण स्वास्थ्य दुर्घटना होइन, राजनीतिक र सामाजिक रहस्यकै रूपमा दर्ज हुनेछ। र जबसम्म सत्य बाहिर आउँदैन, यो मौनता आफैं सबैभन्दा ठूलो शंका बनेर उभिरहनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट