पूर्वइन्स्पेक्टरको षड्यन्त्रः अंश हक मार्न घरमै भएकी ‘श्रीमती हराएको’ उजुरी, घरेलु कामदारसँग विवाह

काठमाडौँ— काठमाडौँको नैकाप तीनथानामा बस्दै आएका अवकाशप्राप्त इन्स्पेक्टर ७३ वर्षीय प्रेमबहादुर शाहले आफ्नै श्रीमती र छोराहरूको अंश हक मार्न कानून नै हातमा लिएको खुलासा भएको छ। श्रीमती राजुकुमारी शाहविरुद्ध उनी सरकारी कागजातमा झुटा विवरण पेश गरी आफूलाई लाभ दिलाउने प्रयासमा देखिएका छन्।

प्रेमबहादुरले श्रीमती हराएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए, जसका कारण उनले अहिले जिल्ला अदालत र सर्वोच्च अदालतमा विभिन्न मुद्दाहरूको सामना गर्नु परेको छ। श्रीमती राजुकुमारी शाहले प्रेमबहादुरविरुद्ध सरकारी कागजात किर्ते गर्ने, व्यक्तिगत घटना दर्ता ऐन उल्लंघन गर्ने, नागरिकता ऐन उल्लंघन गर्ने तथा सँगठित अपराधको कसुरमा जाहेरी दर्ता गराएकी छिन्। उनले अदालत र प्रहरीले अनुसन्धान गरिरहेका मुद्दाहरूमा आफ्नो र छोराहरूको कानुनी अंश सुरक्षित गर्नका लागि प्रेमबहादुरले अनेक जालझेल र किर्ते काम गरेको आरोप पनि लगाएकी छिन्।

जाहेरीअनुसार, प्रेमबहादुरले न्याय प्रक्रिया प्रभावित पार्ने उद्देश्यले पैसा र पहुँचको दुरुपयोग गर्दै राजुकुमारी र छोराहरूको चरित्रहत्या गर्ने, मानसिक आघात पुर्याउने तथा सामाजिक सञ्जाल र मिडियामा झुटा हल्ला फैलाउने कार्य गरेको खुलेको छ। उनको दावी अनुसार २०६२ साल फागुनमा प्रेमबहादुरले श्रीमतीलाई हराएको भनी झुटा निवेदन पेश गरेर आफ्नै घरमै रहेकी राजुकुमारीको अंश हक र छोराहरूको सम्पत्ति लुट्ने योजना बनाएका थिए।

अंश हक सुरक्षित गर्नका लागि घरमा कार्यरत युवतीसँग प्रेमबहादुरले विवाह गरेको प्रमाण पनि भेटिएको छ। काठमाडौँ महानगरपालिकामा दर्ता भएको विवाह दर्तामा २०६४ मंसिरमा उक्त विवाह भएको उल्लेख छ भने विवाहको वास्तविक मिति र नागरिकतामा फरक–फरक विवरण देखिएको छ। युवतीले जिल्ला अदालतमा दिएको बयानअनुसार उनीले २०६७ मंसिरमा विवाह गरेको बताएकी छिन्।

सरकारी कागजात र अनुसन्धानका क्रममा प्राप्त प्रमाणहरूले प्रेमबहादुरले झुटा विवरण पेश गरेर आफ्ना श्रीमती र छोराहरूको अंश हक लुट्ने उद्देश्यले नुवाकोटमा जग्गा खरिद गरेको पुष्टि भएको छ। प्रेमराज भारतीको नाममा बनेको नागरिकताका आधारमा प्राप्त जग्गा संरक्षक राखेर बकसपत्र गरिएको पाइन्छ। दुई फरक–फरक नागरिकतामा एउटै फोटो भए पनि नाम र ठेगाना फरक देखिएको छ, जसले किर्ते कार्यको संकेत दिन्छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले सम्बन्धित निकायहरूलाई पत्र पठाएर फोटो, औंठाछापसहित जग्गा र बकसपत्र सम्बन्धी विवरण मागेको छ। राजुकुमारी शाहका अनुसार प्रेमबहादुरले आफ्नो घरायसी र कानुनी उत्तरदायित्वबाट अलग भएर आफ्ना छोरा–छोरीको अंश हक मार्ने योजना बनाएका थिए। अदालतमा विचाराधीन मुद्दा हुँदा समेत उनले झुटा उजुरी र मिडियामा हल्ला फैलाएर न्याय प्रक्रिया कठिन बनाउने प्रयास गरेको उजुरीमा उल्लेख छ।

राजुकुमारीले भनेकी छिन्, ‘पति र कथित पत्नीको सन्तानको नाममा प्रेमराज भारतीको जग्गामा शेषपछिको बकसपत्र किन राखियो? स्पष्ट छ, अंश हक मार्नकै लागि किर्ते काम गरिएको हो। न्यायका लागि सम्मानित अदालतको ढोका ढकढकाएको छु। तर प्रेमबहादुरका यस्ता कार्यहरूले न्यायको बाटो अझ कठिन बनाउने प्रष्ट छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट