मतदान केन्द्रमै ढले मतदान अधिकृत, अस्पताल पुर्याएपछि मृत्यु घोषणा
मलंगवा — सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको अचानक निधन भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रौतहटका ४२ वर्षीय सिनियर अहेब रघुनाथ महतो मतदान केन्द्रमै खटिएको अवस्थामा अकस्मात् बेहोस भई ढलेका थिए। उनलाई तत्कालै अस्पताल लगिएको थियो।
मलंगवा स्थित प्रादेशिक अस्पतालमा पुर्याएको झन्डै आधा घण्टापछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। निर्वाचन ड्युटीकै क्रममा यस्तो घटना भएपछि स्थानीय प्रशासन र निर्वाचनमा खटिएका कर्मचारीहरूमा स्तब्ध भएका छन्।
महतो रौतहटको माधव नारायण नगरपालिका–६ का स्थायी बासिन्दा हुन्। उनी सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेबका रूपमा कार्यरत रहँदै आएका थिए।
स्वास्थ्य क्षेत्रका कर्मचारी भएर पनि निर्वाचनको जिम्मेवारी सम्हाल्दै मतदान केन्द्रमा खटिएका उनको यसरी अकस्मात् निधन भएपछि सहकर्मी, स्थानीय प्रशासन र परिवारजनमा गहिरो दुःख छाएको बताइएको छ।
प्रहरीका अनुसार घटनाबारे प्रारम्भिक जानकारी प्रादेशिक अस्पताल मलंगवाका एक प्रहरी कर्मचारीमार्फत जिल्ला प्रशासन कार्यालयलाई प्राप्त भएको थियो। घटना भएको जिगडवा आधारभूत विद्यालय मतदान केन्द्र जिल्ला प्रशासन कार्यालयबाट करिब १० किलोमिटर पूर्वमा पर्छ।
मृत्युको यकिन कारण खुल्न बाँकी रहेको र पोस्टमार्टम रिपोर्टपछि मात्र वास्तविक कारण सार्वजनिक हुने चिकित्सकहरूले बताएका छन्। महतोको शव अहिले प्रादेशिक अस्पतालमै राखिएको छ भने परिवारलाई घटनाबारे जानकारी गराइसकिएको प्रहरीले जनाएको छ।
