रास्वपा सांसदको राजनीतिक चरित्रः ‘सादगी’को साइकलबाट पिएसओसहितको सरकारी सवारीसम्म
काठमाडौँ — एक समय साइकल चढेर संसद् पुग्दै ‘सादगीपूर्ण राजनीति’ को सन्देश दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेल अहिले सरकारी गाडी र पिएसओसहित सार्वजनिक कार्यक्रममा देखिन थालेका छन्।
वैकल्पिक राजनीति, न्यून सुविधा र व्यवहारिक सादगीको भाष्य बोकेर चर्चामा आएका गजुरेलको पछिल्लो सार्वजनिक प्रस्तुति अहिले उनकै पुराना वाचा र वर्तमान व्यवहारबीचको विरोधाभासका रूपमा हेरिन थालेको छ।
हिजो रास्वपाको सुनकोशी गाउँपालिका अधिवेशनमा पुगेका गजुरेल भाषण गरिरहँदा उनको पछाडि पिएसओ तैनाथ देखिएका थिए। कार्यक्रमस्थलमा उनी सरकारी सवारी र सुरक्षाकर्मीसहित पुगेको दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।
संसदीय समितिका सभापतिलाई पिएसओ सुविधा दिने कानुनी व्यवस्था अनुसार गजुरेलले पूर्वाधार विकास समिति सभापतिको हैसियतमा उक्त सुविधा पाएको बताइए पनि अहिले उठेको प्रश्न कानुनी अधिकारभन्दा बढी राजनीतिक नैतिकता र सार्वजनिक प्रतिबद्धताको बनेको छ।
किनकि उनै गजुरेल गत चैतमा प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणका लागि भक्तपुरदेखि सिंहदरबारसम्म साइकल चढेर पुगेका थिए। संसद् भवन पुग्दा उनले निजी कार प्रयोग नगरी २५ हजार रुपैयाँमा किनेको नेपाली उत्पादनको साइकल प्रयोग गरेका थिए। त्यतिबेला उनले पेट्रोलियम पदार्थमा निर्भरता घटाउनुपर्ने, सार्वजनिक यातायात र साइकल संस्कृतिलाई प्रवद्र्धन गर्नुपर्ने तथा नेताहरूले भाषणभन्दा व्यवहारबाट उदाहरण दिनुपर्ने बताएका थिए।
उनको त्यो दृश्यलाई रास्वपाले पनि ‘नयाँ राजनीतिक संस्कार’ को प्रतीकका रूपमा प्रचार गरेको थियो। सामाजिक सञ्जालमा साइकल चढेका तस्बिरहरू व्यापक रूपमा फैलाइए। धेरैले त्यसलाई सादगी, वैकल्पिक सोच र व्यवहारिक राजनीतिसँग जोडेर प्रशंसा गरेका थिए। तर अहिले त्यही नेता सरकारी गाडी र सुरक्षाकर्मीको घेरामा देखिन थालेपछि आलोचकहरूले प्रश्न उठाउन थालेका छन— ‘के त्यो साइकल यात्रा साँच्चिकै सिद्धान्त थियो, कि राजनीतिक ब्रान्डिङ ?’
राजनीतिमा सुविधा लिनु स्वाभाविक विषय हो। संसदीय समितिको सभापतिको हैसियतमा सुरक्षा सुविधा उपलब्ध हुनु कानुनी प्रक्रिया नै हो। तर समस्या त्यतिबेला सुरु हुन्छ, जब नेताले आफूलाई अरूभन्दा फरक देखाउन बनाएको सार्वजनिक छवि र वास्तविक व्यवहारबीच ठूलो दूरी देखिन थाल्छ।
विशेषगरी रास्वपाले विगतमा राज्यका सुविधा, तडकभडक र सुरक्षा घेराको राजनीति गर्ने पुराना दलहरूको आलोचना गर्दै आएको थियो। ‘हामी फरक छौँ’ भन्ने भाष्य नै उसको मुख्य राजनीतिक पूँजी थियो। तर अहिले सोही दलका नेताहरू क्रमशः पुरानै शक्ति–संरचना, सुविधा र सुरक्षाको संस्कृतिमा सहज बन्दै गएको दृश्य देखिन थालेपछि जनतामाझ निराशा बढ्न थालेको विश्लेषण भइरहेको छ।
गजुरेलको साइकल यात्रा त्यतिबेला केवल यात्रा थिएन, त्यो एउटा राजनीतिक सन्देश थियो। सार्वजनिक यातायात र वातावरणमैत्री जीवनशैलीको वकालत गर्ने सांसदको छवि निर्माण गरिएको थियो। तर अहिले उनी सरकारी गाडी र पिएसओसहित सार्वजनिक कार्यक्रममा देखिँदा आलोचकहरू भन्छन— ‘यदि सोच परिवर्तन भएको हो भने त्यसबारे जनतालाई स्पष्ट पारिनुपथ्र्यो। हिजोको भाषण र आजको व्यवहारबीचको अन्तर लुकाएर वैकल्पिक राजनीति टिक्दैन।’
राजनीतिक विश्लेषकहरूका अनुसार नेपालमा नयाँ दलहरूको सबैभन्दा ठूलो चुनौती नै यही हो— भाष्य र व्यवहारबीचको दूरी। चुनावअघि सादगी, पारदर्शिता र जनतासँग नजिकको राजनीति गर्ने वाचा गर्ने नेताहरू सत्ता र पदमा पुगेपछि विस्तारै पुरानै शक्ति–संरचनामा घुलमिल हुने प्रवृत्ति दोहोरिन थालेको छ।
आशिष गजुरेलमाथि अहिले उठिरहेको बहस पनि व्यक्ति केन्द्रित मात्रै छैन। यो बहस वास्तवमा रास्वपाले बोकेको ‘नयाँ राजनीति’ को दाबीमाथि हो। किनकि जनताले नेताले साइकल चढ्यो कि गाडी, त्योभन्दा बढी उसले बोलेको र गरेको कुरा कति मेल खान्छ भन्ने हेर्छन्।
र अहिले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म एउटै प्रश्न उठ्न थालेको छ— ‘साइकलको सादगी आखिर कहाँ हरायो ?’
लोकप्रिय
सभामुखको कुर्सी पछाडिबाट रोष्ट्रममा पुर्याईए अर्थमन्त्री, नाराबाजीबीच पास भयो विदेशी ‘सिइओ’ खुलाउने विधेयक

