शंकाले खोल्यो गाँजाको जालोः फत्तेपुरबाट पक्राउ परेका दुई जनामाथि अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद

राजविराज– सप्तरीको फत्तेपुरमा मध्यरातको अँध्यारोमा टाउकोमा बोरा बोकेर हिँडिरहेका एक व्यक्तिमाथि प्रहरीले गरेको सामान्य शंकाले लागूऔषध कारोबारको ठुलो पाटो उजागर गरेको छ। प्रहरीको नजरमा परेका ती व्यक्ति पक्राउ परेपछि घटनाले असामान्य मोठ लिएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सप्तकोशी नगरपालिका–१ हेडबाँध टोलमा नियमित गस्तीमा खटिएको प्रहरी टोलीले बिहीबार बिहान करिब साढे तीन बजे हेडबाँधबाट फत्तेपुर बजारतर्फ आउँदै गरेका ४३ वर्षीय भुपराज कार्कीलाई शंकास्पद अवस्थामा फेला पारेको थियो।

प्रहरीले उनले टाउकोमा बोकेको सेतो रंगको बोरा जाँच गर्दा त्यसभित्र गाँजा फेला परेको थियो। नापतौल गर्दा उक्त बोरामा १३ दशमलव २२ किलोग्राम गाँजा रहेको खुलेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले कार्कीको घरमा खानतलासी गर्दा थप गाँजा बरामद भएको थियो। कार्की सुत्ने कोठाभित्र खाटमुनि लुकाएर राखिएको खैरो रंगको झोला फेला परेको र त्यसभित्र ९ दशमलव ९२ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा भुपराज कार्कीले उक्त गाँजा सप्तकोशी नगरपालिका–१ फत्तेपुरकै २८ वर्षीय दिपेश भनिने ठाकुरकुमार लेखीको भएको बताएका थिए। त्यसपछि प्रहरी टोलीले लेखीको खोजी सुरु गरेको थियो।

खोजतलासका क्रममा लेखी आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला परेका थिए। उनलाई पनि नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनापछि दुवै प्रतिवादीविरुद्ध प्रहरी प्रतिवेदनमार्फत मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद प्राप्त भएपछि अहिले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीको नियन्त्रणमा पुगेका ती व्यक्तिहरू गाँजा बोकेका भरिया हुन् वा यसको पछाडि अझ ठूलो सञ्जाल सक्रिय छ भन्ने विषय अब अनुसन्धानको केन्द्रमा पुगेको छ। प्रहरीले अब बरामद गाँजाको स्रोत, गन्तव्य, संलग्न व्यक्तिहरू र सम्भावित नेटवर्कबारे विस्तृत अनुसन्धान अघि बढाउने भएको छ।

पछिल्ला वर्षहरूमा मधेशका विभिन्न जिल्लाहरू हुँदै गाँजा ओसारपसारका घटनाहरू सार्वजनिक भइरहेका छन्। केही समय अघि राजविराज स्थित जिल्ला प्रहरी कार्यालयको नाकै मुनी गोदाम राखेरै गाँजा तस्करी हुने गरेको घट्ना सार्वजनिक भएको थियो। त्यो घट्नामा संलग्नलाई प्रहरीले हालसम्म पक्राउ गरी कानुनी दायरामा ल्याउन सकेको छैन। उल्टै प्रहरीले नै उनिहरुलाई भाग्ने मौका दिएको भन्दै त्यसवेला निकै आलोचना भएको थियो।

फत्तेपुरको यो घटना पनि सामान्य पक्राउभन्दा ठूलो चेनको संकेत हुनसक्ने आशंका गरिएको छ। प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई लागूऔषध सम्बन्धी कसुरअन्तर्गत अनुसन्धानका लागि अदालत उपस्थित गराइएको थियो। अदालतले प्रारम्भिक अनुसन्धानका आधारमा थप सोधपुछ र प्रमाण संकलन आवश्यक देखिएकाले पाँच दिनको म्याद दिएको हो।

अनुसन्धान अधिकारीहरूका अनुसार पक्राउ परेका व्यक्तिहरूसँग बरामद गाँजा कहाँबाट ल्याइएको थियो, कसलाई बुझाउने तयारी थियो र यस कारोबारमा अरू को–को संलग्न छन् भन्ने विषयमा बयान लिने काम भइरहेको छ। उनीहरूको मोबाइल सम्पर्क, आर्थिक कारोबार र आवतजावतको विवरणसमेत केलाउने तयारी गरिएको छ।

सप्तरीको दक्षिणी भेग र सीमावर्ती क्षेत्रलाई प्रयोग गरेर विभिन्न प्रकारका अवैध कारोबार हुने गरेको चर्चा बेलाबेला उठ्दै आएको छ। यही कारण फत्तेपुरबाट भएको पछिल्लो पक्राउलाई पनि सुरक्षा निकायले गम्भीर रूपमा लिएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट