सप्तरीमा चकलेटको लोभ देखाएर पाँच वर्षीया बालिका ब*लात्कार गर्ने १८ वर्षीय युवक पक्राउ
राजविराज– सप्तरीको छिन्नमस्ता गाउँपालिकामा चकलेट किनिदिने प्रलोभन देखाएर पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार छिन्नमस्ता गाउँपालिका–४ लालापट्टी टोलका १८ वर्षीय राजिव यादवलाई बलात्कारको आरोपमा पक्राउ गरिएको हो।
जेठ १३ गते दिउँसो करिब १२ बजे गाउँमा खेलिरहेकी पाँच वर्षीया बालिकालाई यादवले चकलेट किन्न पैसा दिने बहानामा घर नजिकैबाट बोलाएर लगेका थिए। त्यसपछि गाउँकै पोखरीको डिलमा रहेको बाँसघारीमा पु¥याई बालिकामाथि बलात्कार गरेको आरोप छ।
घटनाका क्रममा पीडित बालिका चिच्याउन थालेपछि नजिकै पोखरीमा कपडा धोइरहेका स्थानीयले आवाज सुनेका थिए। उनीहरू घटनास्थलतर्फ जाँदै गर्दा आरोपित युवक भने त्यहाँबाट भागेर फरार भएका थिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरीले खोजतलास अभियान सञ्चालन गरेको थियो। सोही दिन लुकिछिपी बसेको अवस्थामा आरोपित युवकलाई फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा बलात्कार सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका युवकविरुद्ध सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

