नारायणी अस्पतालमा बिरामीको मृत्युपछि पाँच स्वास्थ्यकर्मी निलम्बित, चिकित्सक संघद्वारा आन्दोलतको चेतावनी

वीरगञ्ज– पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादले नयाँ मोड लिएको छ। अस्पताल प्रशासनले घटनाको छानबिन गर्न ६ सदस्यीय समिति गठन गर्दै आकस्मिक कक्षमा कार्यरत दुई चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीलाई सात दिनका लागि जिम्मेवारीबाट हटाएको छ।

तर, नेपाल चिकित्सक संघले उक्त निर्णयप्रति आपत्ति जनाउँदै निलम्बन तत्काल फिर्ता नलिए र चिकित्सकमाथि आक्रमण तथा अस्पताल तोडफोडमा संलग्नलाई कारबाही नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। शनिबार बिहान वीरगन्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेल सिकिस्त अवस्थामा नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएका थिए।

उपचारकै क्रममा उनको मृत्यु भएपछि आक्रोशित परिवारजन र स्थानीयले आकस्मिक कक्षमा प्रवेश गरी तोडफोड गरेका थिए। अवस्था तनावग्रस्त बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गरेको थियो।

घटनापछि शनिबार साँझ जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार गुप्तासहित अस्पताल प्रशासन, प्रहरी र पीडित पक्षबीच बसेको बैठकले घटनाको छानबिन गर्न ६ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

समितिमा अस्पतालका डा. नीरजकुमार सिंह, जिल्ला प्रशासन कार्यालयका विनयकुमार गुप्ता, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदी, वीरगन्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, मृतकको तर्फबाट विकास पटेल तथा अस्पताल प्रशासनका तर्फबाट सुनीलकुमार रौनियार सदस्य छन्।

बैठकले छानबिन प्रतिवेदन नआएसम्म आकस्मिक कक्षमा कार्यरत डा. प्रमोद राम, डा. रामकिशोर सिंह, स्वास्थ्यकर्मी प्रह्लाद प्रसाद, नरेशकुमार चौधरी र आस्था यादवलाई एक साताका लागि जिम्मेवारीबाट हटाउने निर्णय पनि गरेको छ।

मृतकका भतिजा विकास पटेलले छाती दुखेपछि राजकुमार पटेललाई अस्पताल ल्याइएको तर चिकित्सकले औषधि लेखिदिए पनि अस्पतालमा आवश्यक इसिजी उपकरण तथा अन्य अत्यावश्यक उपचार सामग्री उपलब्ध नभएको र सामान्य औषधिसमेत नपाएको आरोप लगाएका छन्। परिवारले उपचारमा लापरबाही भएको दाबी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ।

घटनाका क्रममा स्थानीय बिटमा खटिएका प्रहरीमाथि हातपात गर्ने एक जनालाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्रराज मल्लले जानकारी दिएका छन्। उनका अनुसार अस्पतालको अवस्था अहिले सामान्य छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यसैबीच, नेपाल चिकित्सक संघले आइतबार विज्ञप्ति जारी गर्दै अस्पताल तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणको कडा निन्दा गरेको छ। संघका केन्द्रीय अध्यक्ष डा. बद्री रिजालले घटनामा संलग्न व्यक्तिमाथि तत्काल कानुनी कारबाही गर्न र छानबिन नटुंगिँदै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निलम्बन गर्ने निर्णय फिर्ता लिन माग गरेका छन्।

संघले उपचार सेवामा संलग्न स्वास्थ्यकर्मीलाई पूर्वाग्रही ढंगले जिम्मेवारीबाट हटाइएको भन्दै असन्तुष्टि जनाएको छ। विज्ञप्तिमा तोडफोडमा संलग्न व्यक्तिमाथि कारबाही नगरे तथा निलम्बन फिर्ता नलिए देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ।

अस्पताल प्रशासनले घटनाबारे विस्तृत सार्वजनिक धारणा भने अझै सार्वजनिक गरेको छैन। यद्यपि, छानबिन समितिको प्रतिवेदनपछि मात्र उपचार प्रक्रियामा लापरबाही भएको वा नभएको विषयमा औपचारिक निष्कर्ष आउने अपेक्षा गरिएको छ। हाल घटनाको सबै पक्षबारे अनुसन्धान जारी रहेको प्रशासन र प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट