११ करोड हिनामिना प्रकरणः एपीएफ स्कुलकी इन्स्पेक्टर कल्पनामाथि अब भ्रष्टाचार अनुसन्धान

काठमाडौँ– कीर्तिपुरस्थित सशस्त्र प्रहरी बल (एपीएफ) विद्यालयको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरण अब भ्रष्टाचार अनुसन्धानको चरणमा प्रवेश गरेको छ। विद्यालयको लेखा प्रणाली दुरुपयोग गरी कल्याण कोषमा जम्मा हुनुपर्ने रकम गैरकानुनी रूपमा निकालिएको आरोपमा पक्राउ परेकी सशस्त्र प्रहरी इन्स्पेक्टर कल्पना गुरुङ र उनका सहयोगी लीलाबहादुर लामा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक अनुसन्धान सुरु गरेको छ।

विशेष अदालतले आइतबार दुवै जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। यसअघि उनीहरूमाथि ठगी तथा आपराधिक विश्वासघात (आपराधिक लाभ) सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको थियो। सशस्त्र प्रहरी मुख्यालयको पत्रका आधारमा उनीहरू गत असार २० गते काठमाडौंको ठमेल क्षेत्रबाट पक्राउ परेका थिए।

प्रारम्भिक अनुसन्धानअनुसार इन्स्पेक्टर गुरुङले कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा करिब छ वर्ष लेखा प्रमुख (लेखा अधिकृत) को जिम्मेवारी सम्हाल्ने क्रममा विद्यालयको आम्दानीबाट कल्याण कोषमा जम्मा हुनुपर्ने रकम नियमविपरीत निकाली आफ्ना साथी लीलाबहादुर लामालाई उपलब्ध गराउँदै आएको आरोप छ। लामा होटल तथा ट्राभल एजेन्सी व्यवसायमा संलग्न रहेको र उक्त रकम विभिन्न कारोबारमा डुबाएपछि अनियमितताको श्रृंखला बाहिर आएको अनुसन्धान स्रोतले जनाएको छ।

सशस्त्र प्रहरी बलले घटनाबारे गरेको आन्तरिक छानबिनले आर्थिक हिनामिनाको योजनामा इन्स्पेक्टर गुरुङको मुख्य भूमिका रहेको निष्कर्ष निकालेको छ। छानबिनमा विद्यालयका तत्कालीन कमान्डेन्टहरू दिगबिजय सुवेदी, भूपेन्द्र केसी र रामजंग पाण्डेको गम्भीर लापरबाही औँल्याइएको छ। विद्यालयको करोडौं रुपैयाँ आम्दानीको नियमित अनुगमन नगरेको आरोपमा कल्याण शाखाका केही अधिकारीसमेत अनुसन्धानको दायरामा छन्।

अनुसन्धानका क्रममा सशस्त्र प्रहरीको कल्याण महाशाखामा कार्यरत लेखापाल (डीएसपी) महेन्द्र हमालको भूमिकासमेत छानबिनमा परेको छ। विद्यालयमा आर्थिक अनियमितता भएको जानकारी हुँदाहुँदै सम्बन्धित निकायलाई समयमै जानकारी नदिई विषयलाई दबाउने प्रयास गरेको आशंका अनुसन्धानकर्ताहरूले गरेका छन्। यद्यपि उनीविरुद्ध हालसम्म कुनै औपचारिक अभियोग दर्ता भएको छैन।

स्रोतका अनुसार सशस्त्र प्रहरीमा लेखा अधिकृतको सरुवा सामान्यतः प्रत्येक वर्ष हुने व्यवस्था भए पनि इन्स्पेक्टर गुरुङ भने लगातार छ वर्षसम्म एउटै कार्यालयमा कार्यरत रहेकी थिइन्। नयाँ लेखा अधिकृत जिम्मेवारी सम्हाल्न पुगेपछि हिसाब मिलान गर्ने क्रममा अनियमितताको संकेत भेटिएपछि प्रकरण सार्वजनिक भएको हो।

प्रहरी अनुसन्धानमा विद्यालयको बैंक खातामा रहनुपर्ने रकम व्यक्तिगत खातामार्फत कारोबार गरिएको प्रारम्भिक तथ्य फेला परेको छ। यससँग सम्बन्धित बैंक विवरण, वित्तीय कारोबार, लेखा अभिलेख तथा अन्य कागजातको परीक्षण जारी रहेको प्रहरीले जनाएको छ। हिनामिनाको वास्तविक रकम, रकमको अन्तिम उपयोग र सम्भावित अन्य संलग्न व्यक्तिको भूमिका पनि अनुसन्धानकै क्रममा रहेको छ।

यो प्रकरण सार्वजनिक हुनुअघि नै विद्यालयको आर्थिक व्यवस्थापनबारे प्रश्न उठ्न थालेका थिए। २०८२ मंसिरमा विद्यालयको रासन व्यवस्थापनमा समेत अनियमितता भएको आरोपसहित विभिन्न निकायमा उजुरी परेको अभिलेख छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सशस्त्र प्रहरी मुख्यालयबाट प्राप्त उजुरी तथा प्रारम्भिक अनुसन्धानका आधारमा दुवै जनालाई नियन्त्रणमा लिइएको हो। प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइरहेको छ भने अब अख्तियारले भ्रष्टाचारसम्बन्धी कानुनी पाटोबाट पनि समानान्तर अनुसन्धान थालेको छ।

विशेष अदालतबाट प्राप्त १० दिने हिरासत अनुमतिपछि अख्तियारले वित्तीय कारोबार, सरकारी सम्पत्तिको दुरुपयोग, भ्रष्टाचारजन्य कार्य र सम्भावित अन्य संलग्न व्यक्तिको भूमिकाबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ। अन्तिम अनुसन्धान प्रतिवेदनका आधारमा भ्रष्टाचार मुद्दा दर्ता गर्ने वा नगर्ने विषयमा निर्णय हुने आयोग स्रोतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट