प्रचण्ड र देउवालाई कोशीका मुख्यमन्त्रीको अर्को झट्काः ओलीलाई भने सहमतिमा धोका हुँदैन

राजविराज– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आईतवार विहान नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।

शनिबार मुख्यमन्त्री नियुक्त भएपछि कार्की काठमाडौं पुगेका थिए। शेखर कोईरालापछि सभापति शेरबहादुर देउवालाई भेटेका कार्कीले बालकोटस्थित निवासमा पुगेर एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेका हुन्।

भेटमा मुख्यमन्त्री कार्कीले अध्यक्ष ओलीलाई एमालेसँग आफूले गरेको सहमतिमा धोका नदिने बताएको ओलीनिकट एमालेका एक नेताले जानकारी दिए।

कार्कीसहित कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री कार्कीले शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग निवासमै पुगेर भेटेका थिए। कार्की कांग्रेस नेता शेखरनिकट मानिन्छन्। शेखरले नै अडान लिएपछि कोशीमा कार्की मुख्यमन्त्री भएका थिए।

कोशीमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी गरेका थिए। तर उनीहरू शनिबार प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालयमा खनाखत गर्न गएका थिएनन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति देउवा र नेता कोइरालाबीच गठबन्धनलाई कायमै राख्ने सहमति शनिबार बिहान बालुवाटारमा भएको थियो। उक्त सहमतिपछि प्रधानमन्त्री दाहालले कार्की गठवन्धनकै मुख्यमन्त्री भएको दावी गर्दै विश्वासको मत पनि दिने बताएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट