लक्ष्मी पूजाको दियोमा जलेर वृद्धाको मृत्यु, आगलागीमा ४ प्रहरीसहित २८ जना घाईते
राजविराज– लक्ष्मी पूजा गर्न बालेको दियो सल्कँदा आइतबार भक्तपुरमा एक वृद्धाको मृत्यु भएको छ भने मोरङ, सुनसरी, संखुवासभा लगायतका जिल्लामा भएका आगलागीमा लाखौंको क्षति भएको छ ।
मध्युपुर ठिमी नगरपालिकामा ८३ वर्षीया सावित्रादेवी मल्लको आफैले बालेको दियोमा जलेर मृत्यु भएको छ। वृद्धाले तीन तले घरको दोस्रो तलामा लक्ष्मी पूजा गर्न दियो बालेकी थिइन्। अचानक दियोको बत्ती आफैंले लगाएको कपडामा सल्किएपछि ८५ वर्षीय श्रीमान् गुरूप्रसाद दाहालले पानी हाली निभाउने कोसिस गरेको थिए।
तर आगो ननिभेपछि सावित्रादेवीको घटनास्थलमै मृत्यु भएको भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।
यसैगरी, मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनपसलमा आगलागी हुँदा निभाउने क्रममा ४ प्रहरी र २४ जना सर्वसाधारणसहित २८ जना घाइते भएका छन् । आगलागिपछि ग्याँस सिलिन्डर विस्फोट हुँदा असई, एक जना हबल्दार र दुई जना जवानसमेत घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको झापाको बीएमसी, विराट नर्सिङ होम, आर्या, रेडप्लस, लाइफलाइन लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
सुनसरी सदरमुकाम इनरुवा–१ को मुख्य बजारमा वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी हुँदा ५० लाख मूल्य बराबरको क्षति भएको छ । पटका पड्काउँदा जैनको घरमा आगलागि भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–१ हिमावी टोलस्थित लिला राईको घरमा दियोबाट आगो सल्किँदा घर पूर्णरुपमा क्षति भएको छ । लत्ताकपडा, खाद्यान्न, नगद ३१ हजार र घर परिसरमा पार्किङ गरी राखिएको एक अटो जलेका छन् ।