प्रचण्डले यूएई जानु अघि किन राखे नातिनीको इन्गेजमेन्ट ?
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनी प्रतिभा पाठकको टिकाटालो (इन्गेजमेन्ट) भएको छ। उनको गोरखाका विज्ञानबाबु रेग्मीसँग मंगलबार इन्गेजमेन्ट भएको हो।
उनीहरूबीच आगामी मंसिर २३ गते विवाह गर्ने तय भएको छ। प्रतिभा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकी छोरी हुन भने प्रधानमन्त्री दाहालकी नातिनी। टीकाटालोमा प्रधानमन्त्री दाहाल पनि सहभागी थिए।
रेनु प्रचण्डकी माइली छोरी हुन्। रेनुका एक छोरी र छोरा छन्। प्रतिभा उच्च शिक्षाका लागि विदेश गएकी थिइन्।
रेनुका श्रीमान् अर्जुन पाठक पनि रेनुसँगै भरतपुर महानगरमा छन्। उनीहरूबीच जनयुद्धकै बेला भारतमा बिहे भएको थियो।
नातिनीको इन्गेजमेन्टमा सहभागि भई प्रधानमन्त्री दाहाल बुधबार राती जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायको २८औं सम्मेलन (कोप–२८) मा सहभागी हुन यूएई प्रस्थान गरेका छन्।
उनी साढे ९ बजेपछि नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन्। कोप–२८ मा प्रधानमन्त्री दाहालले नेपालको तर्फबाट सम्बोधन गर्ने छन्। कोप–२८ मंसिर १४ देखि २६ सम्म चल्ने छ।
प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा छोरी गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी छन्।
दाहालले अबुधाबीस्थित नेपाली दूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल–यूएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आइतबार स्वदेश फर्कने छन्।