भारतीय जेलबाट भागेका क्यानेडियन अपराधीलाई नेपालको गृह प्रशासनले १५ लाखमा भिसा बेचेको खुलासा

काठमाडौँ– क्यानडा निवासी जगमनदिप सिंह (जुगनु) भारतीय जेलबाट फरार भई नेपाल आएर जेल बसेकै मितिमा भिसा तयार गरी क्यानडा भागेको खुलेको छ। उनको यो काममा नेपालको गृह प्रशासन विकेको पाईएको छ।
उपचारको क्रममा भारतको अस्पतालबाट भागेर नेपाल छिरेका उनलाई नेपालको गृह प्रशासनका अधिकारीहरूले १५ लाख घुस खाएर भिसा जारी गरी क्यानडा भागएको तथ्यहरु फेला परेका छन्। प्रमाण अनुसार अध्यागमन विभागले सिंहको नाममा दुई पटक टुरिस्ट भिसा जारी गरेको देखिन्छ। भिसा जागरी भएको मितिमा उनी पन्जाबको जेलमा थिए।
वैदेशिक रोजगारको आवरणमा ठगी गरेको उजुरीका आधारमा उनलाई २०२१ मार्च ११ मा क्यानडाबाट भारतको अमृतसर आएका वेला विमानस्थलबाटै पक्राउ गरिएको थियो। त्यसपछि पन्जाबको फरिदाकोट जेलमा रहेको बेलामा स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि २०२१ डिसेम्बर २३ मा गुरु गोविन्द सिंह मेडिकल कलेजमा भर्ना गरिएको थियो। उनी अस्पतालबाट २०२२ फेव्रुअरी २ मा भागेका थिए।
सिंहलाई नेपालले भने २०२१ अप्रिल १९ को मितिमै भिसा दिएको छ। पहिलो पटक उनको नाममा १२२००६१२१५ नम्बरको १५ दिने पर्यटक भिसा लाग्यो। यो बेलामा उनी भारतको पन्जाबको जेलमा थिए।
१५ दिनपछि पुन एक वर्षको भिसा लाग्यो। यी दुवै भिसा जारी भएको मिति भने २०२२ मार्च २९ रहेको छ। सिंहको दाबी अनुसार नेपाली भिसा पाउन उनले १५ लाख रूपैयाँ घुस खुवाएका थिए। घुस कसले लियो उनले खुलाएका छैनन्। भारतीय च्यानल फोपिएमसँगको कुराकानीमा उनले भिसा दिनेहरूलाई सो पैसा दिएको खुलाएका छन्।
भारतको जेलबाट भागेर नेपाल आए पनि सहजै नेपाली भिसा पाएपछि नेपालमा रहेको क्यानेडियन कन्सुलरबाट उनको नाममा २०२२ मार्च ३१ को मितिमा आकस्मिक ट्राभल्स डकुमेन्ट बन्यो। २०२२ अप्रिल ४ मा कतार एयरको क्युआर ६४५ ७६३ बाट नेपालबाट कतारहुँदै क्यानडाको मोन्ट्रियल पुगे। उनी अहिले पनि भारतीय सुरक्षा निकायको सूचीमा फरार अभियुक्त हुन्।
अध्यागमनको रेकर्ड अनुसार उनलाई सन् २०२२ भरी नेपाल प्रवेश गर्न नपाउने सर्तमा नेपालबाट क्यानडा डिपोर्ट गरेको समेत पुष्टि भएको छ। अध्यागमनका सूचना अधिकारी प्रेम दाहालका अनुसार सिंहले नेपालको भिसाको लागि आवेदन दिएपछि उनीबारे बुझ्न राष्ट्रिय अनुसन्धान विभागको सूचना तथा समन्वय विश्लेषण महाशाखामा विभागले पत्र पठाएको थियो।
२०७८ चैत १४(२०२२ मार्च २८) मा क्यानडाबाट नेपाल आएको र इन्टरपोलको ब्ल्याक लिस्टमा समेत नपरेको भन्दै अनुसन्धान विभागको पत्र आएपछि उनको नाममा भिसा जारी भएको हो। २०२२ मार्च २२ मा सिंहको श्रीमतीले अध्यागमन विभागमा क्यानडाको कन्सुलर विभागबाट क्यानडा पठाइदिने आग्रहसहित आएपछि उनी भारत आएको मितिको भोलिपल्ट नेपाल आएको मानेर पहिलो भिसा जारी गरेको र क्यानडा पठाउन दोस्रो भिसा जारी भएको रेकर्डमा देखिएको उनले जानकारी दिए।
अध्यागनस्रोतका अनुसार सिंहले क्यानेडियन कन्सुलर र क्यानडा जाने कतार एयरको टिकट देखाएपछि उनको बयान लिइएको थियो। बयानमा उनले भारतमा आफन्त भेट्न आएको र भारतमा ब्याग हराएकाले नेपाल आएको बयान दिएका थिए।
भारतीय च्यानल फोपिएमसँगको अन्तर्वार्तामा उनले अवैध रूपमा नेपाल प्रवेश गरेपछि नेपाली भिसा लगाउन खोज्दा पहिला सात लाख मागेको बताएका छन्। आफू सात लाख दिन तयार भएपछि गृह प्रशासनले आफ्नो बारेमा भारतमा बुझ्दा जेलबाट भागेको व्यक्ति भएको खुलेपछि पैसा बढाएर १५ लाख पुर्याएको र उनीहरूले मागे अनुसारको पैसा दिएर क्यानडा फर्किएको बताएका छन्।
प्रमाणहरूले अध्यागमन विभाग, राष्ट्रिय अनुसन्धान विभाग अनि गृह मन्त्रालयको मिलेमतोमा उनीसँग पैसा लिएर क्यानडा भगाएको पुष्टि हुन्छ। यो प्रकरणले भारतमा समेत विवाद भइरहेको छ। भारतीय जनता पार्टीका नेताहरूसँग उनको अवैध सम्वन्ध देखिएको छ।
उनी क्यानडामा वैद्य गाँजाको व्यापारमा सक्रिय भए। यहीबिचमा भारतमा उनीसहित भएको एक भिडियो सार्वजनिक भयो जसमा भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय कृषीमन्त्री नरेन्द्रसिंह तोमरको छोरा प्रबल तोमरले कसैसँग करोडौं डिल गरिरहेका थिए।
भिडियोमा उनी पनि देखिएपछि भारतीय मिडियाले उनको खोजी सुरु गर्यो। तर उनीबारे पर्याप्त विवरण थिएन। उनले आफ्नै युट्युब च्यानलमा भिडियो बनाएर राख्दै सो भिडियोमा देखिएको आफू भएको र भिडियो खिचिएको स्थान क्यानडामा रहेको आफ्नो घर रहेको खुलाए। अनि भारतीय मिडिया उनीसम्म पुगे।
उनले तोमर परिवारको पोल खोल्दै उनीहरूले हुन्डीमार्फत भारतबाट क्यानडामा पठाएको कालो धन र त्यसको लगानीको फेहरिस्त सार्वजनिक गरे। मलमा हुने खेल खुलाए। अनि आफू उपचारको बहानामा कारागार बाहिरको अस्पतालमा बसेको, अस्पतालबाट भागेपछि दिल्ली पुगेर भाजपा नेता तोमरको सरकारी क्वाटरमा बसेको, उनकै सहयोगमा गोवा र सिक्किम पुगेर श्रीलंकाहुँदै क्यानडा फर्कने प्रयास असफल भएपछि पटनाबाट नेपाल आएको खुलाएका छन्।
गोवामा रहेको क्यानेडियन कन्सुलरकोमा गएर आफ्नो राहदानी फिर्ता माग्दा अदालतको पत्र चाहिने भन्दै भारत बाहिरको देश गएर इमर्जेन्सी ट्राभल्स डकुमेन्ट बनाउन सुझाव दिएको उनले खुलाएका छन्। त्यसका लागि श्रीलङ्का जाने प्रयासमा असफल भएपछि भाजपा नेता तोमरको नेपाली मूलका चालकको सहयोगमा पटनाहुँदै नेपाल छिरेको र नेपालबाट क्यानडा भाग्न समेत भाजपा नेताहरूले नै सघाएको उनले दाबी गरेका छन्।
उनले आफू कोकिनको अम्मली रहेको समेत स्विकारेका छन्। भारतमा रहँदा होस् या नेपालमा रहँदा आफूले नियमित कोकिन प्रयोग गर्ने गरेको उनले बताएका छन्।
उकेरा डटकम र भारतीय मिडियाको सहयोगमा