देउसेमाथि खुकुरी प्रहार गरी हत्या गरेर फरार भएका पूर्णहाङ ३० वर्षपछि पक्राउ

भोजपुर– देउसी खेल्ने क्रममा भएको विवाद मिलाउन वसेका झगडीयाका भाईलाई खुकुरी प्रहार गरी हत्या गरेर फरार भएका एक अभियुक्तलाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको छ। ठाउँ परिवर्तन गरी पहिचान छुपाएर ललितपुरमा वसोवास गर्दै आएको अवस्थामा उनलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका–५ खावाका ४६ वर्षीय पूर्णहाङ राई छन्। उनलाई १४ पुसको राती पक्राउ गरिएको हो।

०५० मङ्सिर ३ गते राईसहितको संलग्नतामा साविक कोट गाविसका राजधन राईको खुकुरी प्रहार गरी हत्या गरिएको थियो। हत्याका मुख्य अभियुक्त शुक्रदेव राईको भने फरार रहेकै अवस्थामा मृत्यु भइसकेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी सुदीपराज पाठकले बताए।

पक्राउ परेका पूर्णहाङलाई प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। २८ भदौ ०६१ मा जिल्ला अदालत भोजपुरले पूर्णहाङलाई घटनामा संलग्नता रहेको भन्दै ३ वर्ष कैदको सजाए सुनाएको छ।

मुख्य प्रतिवादी शुक्रदेवलाई भने अदालतले २० वर्षको कैद सजाए तोकेको थियो। २७ कात्तिक ०५० (लक्ष्मी पूजाको दिन) मा देउसी खेल्ने क्रममा प्रतिवादी शुक्रदेव, पूर्णहाङलगायत २६ जनाले मृतकका दाजु (जाहेरवाला) बागधन राईसँग बादविवाद गरेका थिए।

सो विवाद मिलाउन ३ मङ्सिरमा वसेको वैठकमा राजधनमाथि कुटपिट गर्दै शुक्रदेव राईले खुकुरी प्रहार गरी हत्या गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट