होटलमा बास बसेका श्रीमती र नाबालक छोराको हत्या गरी प्रहरी जवानले गरे आत्मसमर्पण
दाङ– दाङको घोराहीस्थित सहिद गेटमा रहेको सुपर लज होटलमा एक प्रहरी जवानले श्रीमती र नाबालक छोराको हत्या गरेका छन्। हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीलाई पक्राउ गरिएको छ।
२२ वर्षीया श्रीमती टीका विक र साढे २ वर्षका छोरा सुशान्त नेपालीको हत्या गरेर उनी स्वयम् प्रहरी कार्यालय पुगेका थिए। जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लका अनुसार नेपालीले शनिवार ‘नेपालगञ्जबाट श्रीमती आएकी छन्’ भन्दै विदा लिएका थिए।
शनिवार राती उनीहरु सुपरलज होटलको कोठा नं. १ मा बास बसेका थिए। आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी मल्लले जानकारी दिए।
नेपालीको घर रोल्पाको रुन्टीगढी गाउँपालिका–९ हो भने टिकको माइती रुकुम चौरजहारी हो। नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए। २ महिनाअघि मात्रै सरुवा भएर दाङ आएका नेपाली प्रहरीमा १० वर्षदेखि कार्यरत थिए।