रविको पहिलो एक्सनमा सीआईबी प्रमुखः विभागिय कारवाहीको तयारी

काठमाडौं– गृहमन्त्री रवि लामिछानेको पहिलो एक्सनमै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख एआइजी किरण बज्राचार्य पर्न लागेकी छिन्। उनलाई विभागीय कारबाहीको तयारी गरिएको छ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले वज्राचार्यलाई कारवाहीको सिफारिस गरेको थियो। आयोगले उनको त्रुटि औंल्याएपछि उनलाई केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखबाट हटाउने तयारी भएको प्रहरी उच्च स्रोतले जनाएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार गृह मन्त्री रवि लामिछानेले शुक्रबार बिहान गृहसचिव, आइजिपीसहितका अधिकारीहरूलाई बोलाएर एआइजी बज्राचार्यलाई कारबाही गर्न निर्देशन दिएका थिए।

एआइजी बज्राचार्यलाई विभागीय कारबाही गर्न सुझाइएको प्रतिवेदन गृहमन्त्री रवि लामिछानेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका थिए। त्यसक्रममा प्रधानमन्त्री दाहालले प्रतिवेदनले औंल्याएका विषयमा कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए।

लगत्तै गृहमन्त्री लामिछानेले गृहसचिव र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई मन्त्रालयमा बैठक बोलाएर एआइजी बज्राचार्यमाथि विभागीय कारबाही गर्न निर्देशन दिएका हुन्।

थप कारवाहीका लागि गृह मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजानुपर्ने हुनाले तत्कालका लागि सिआइबी प्रमुखबाट हटाउने तयारी भएको हो। १७ माघमा जाँचबुझ आयोगले बज्राचार्यलाई सोधपुछका लागि बोलाएको थियो।

६० किलो सुन प्रकरणको अनुसन्धान गर्दा मुख्य अभियुक्त भगाएको, आरोपीहरूले दिएको बयानको कागज च्यातेको लगायतका कमजोरी सिआइबीबाट भएको प्रतिवेदनमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट