रौतहटमा मनी ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार, ३ जना भारतीय पक्राउ
रौतहट– रौतहटको पराहा नगरपालिका–९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि शुक्रबार दिउँसो गोली प्रहार भएको छ।
घाइते साहलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ। उनको टाउकोमा गोली लागेको प्रहरीले जनायो। लुटेराको समूहले लुटपाट गर्ने उदेश्य गोली चलाएको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीले गोली प्रहार गर्ने समुहलाई पक्राउ गरेको छ। रौतहट प्रहरीका डीएसपी एजिला गिरीका अनुसार गोली चलाउने समूहका तीन जना भारतीय पक्राउ परेका छन्। भारत मोतिहारीका मुनिशकुमार यादव, राजनकुमार पासवान र चन्द्रभान सिंहलाई पक्राउ गरिएको डीएसपी गिरीले बताईन।
भारतीय नम्बरको मोटरसाइकलमा आएका उनीहरुलाई गोली प्रहार गरेर भाग्नै लाग्दा स्थानीयले नियन्त्रणमा लिएका थिए। घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल र गोली बरामद गरेको छ।
यसअघि संसदमा रौतहटका सांसद किरण कुमार साहले गोली चलेकोबारे सभामुखको ध्यानाकर्षण गराएका थिए।