औषधीमा कमिशनको चलखेलः जनप्रतिनिधिको गम्भिर खेलाँची, नागरिकको स्वास्थ्यमा झेल

फत्तेपुर (सप्तरी)– नेपालको संविधान अनुसार ‘आधारभुत स्वास्थ्य सेवा’ निशुल्क पाउनु हरेक नागरिकको मौलिक अधिकार हो। नागरिकको यही अधिकारको रक्षा गर्न सरकारले ‘आधारभुत स्वास्थ्य सेवाको उपचार प्रोटोकल (स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल)’ जारी गरेको छ।

स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल अनुसार आधारभुत अस्पताल/प्राथमिक स्वास्थ्य केन्द्र, आधारभुत स्वास्थ्य केन्द्र/स्वास्थ्य चौकीबाट ९८ प्रकारका औषधिहरु निशुल्क पाइन्छ। निशुल्क पाउने औषधीको लिष्ट पनि जारी गरिएको छ। त्यसका लागि संघीय सरकारले स्थानीय सरकारलाई पैसा पनि पठाउँछ। तर, स्थानीय तहमा आएपछि नत पैसाको अनुहार देखिन्छ, नत औषधी।

तिनै स्थानीय तह मध्येको एक हो, सप्तरीको सप्तकोशी नगरपालिका। जहाँका स्वास्थ्य संस्थामा नागरिकले सिटामोल पनि मागेजती पाउँदैनन्। अन्य औषधीको उपलब्धता यसैबाट अनुमान लगाउन सकिन्छ। सिटामोलकै कुरा गर्दा कसैलाई ‘वाहिरै किन्नु पर्छ’ भनेर पठाईन्छ भने कसैलाई ‘नगरपालिकाबाट ल्याउन पाएको छैन, आएपछि लिन आउनु होला’ भनेर कर्मचारीलाई झुठो वोल्न बाध्य पारिएको छ। कतिपयलाई भने गनेर ४/५ वटा सिटामोल दिईन्छ, त्यो भन्दा वढि माग्ने नागरिकले कर्मचारीको भनाई खानुपर्छ।

नगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ को सुरुवात अर्थात असार/साउनमै खरिद गर्नु पर्ने औषधी अहिलेसम्म (९ महिना वितिसक्यो) खरिद नगर्दा स्वास्थ्य संस्थामा यस्तो अवस्था आएको हो। नगरभित्रका ११ वटै स्वास्थ्य संस्थामा नागरिकले यही समस्या भोगिरहेका छन्।

नगर स्रोतका अनुसार औषधीका लागि मात्रै २० लाख रुपैयाँ छुट्याईएको छ। यस वाहेक सर्जिकल सामान किन्न ४ लाख र आपत्तकालिन कोष भनेर औषधीजन्य सामाग्री खरिदकै लागि १५ लाख रुपैयाँ नगरको खातामा जम्मा छ। तर, अहिलेसम्म औषधी खरिद किन गरिएन ? भन्ने प्रश्नको चित्त वुझ्दो जवाफ भने कसैसँग छैन।

कतिपय जनप्रतिनिधिले भने औषधीको पैसामा कमिशन खान पल्केका केही जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा आर्थिक वर्षको अन्तिममा पैसा सक्ने षडयन्त्र भईरहेको आरोप लगागएका छन्। स्वास्थ्य संस्थामा औषधीको हाहाकार वनाएर हतार–हतारमा खरिद गरिएको देखाउने, अनि म्याद सकिन लागेका औषधी ल्याएर बाँड्ने योजना बनिरहेको उनीहरु वताउँछन्।

‘चोरबाटोबाट औषधी किन्ने षडयन्त्र भईरहेको छ। अघिल्ला वर्षहरुमा पनि यस्ता काम भएका हुन। कम्पनीहरुसँग मिलेमतो गरी म्याद सकिन लागेको औषधी खरिद गरेर बाँडेकाले लाखौं रुपैयाँको औषधी खाल्डो खनेर पुरिएको थियो’ एक जनप्रतिनिधि भन्छन्–‘अहिले पनि गर्न खोजेको त्यही नै हो।’

स्वास्थ्य संस्था औषधी विहिन भएपछि गत फागुन ३ गते सम्पन्न १२औं हिउँदे नगर सभामा कतिपय जनप्रतिनिधिले यस विषयमा कुरा उठाए। औषधी खरिद गर्ने विषयमा वादविवाद पनि भयो। सहमति जुट्न नसकेपछि कतिपय सहभागिले निर्णय पुस्तिकामा हस्ताक्षर समेत नगरेको जनाईएको छ। कुरा नमिलेपछि ९/१० जना कार्यपालिका सदस्यले नगरसभाको निर्णय पुस्तिकामा हस्ताक्षर नगरेको एक सहभागिले वताए।

यता, सप्तकोशी नगरपालिकाका मेयर कृष्ण ढकालले कमिशनको खेल र अघिल्ला वर्ष म्याद सकिन लागेको औषधी खरिद गरेको विषय अस्विकार गरे। स्वास्थ्य संस्थामा हाल औषधी नभएको विषयमा भने उनले अभाव सुरु भएको धेरै नभएको बताए। ‘असोज/कात्तिक/मंसिरसम्मै अघिल्लो वर्षको औषधीले पुग्यो। त्यसपछि केही अभाव देखिएको हो, त्यो पनि अव आईहाल्छ’ ढकालले भने–‘हामीले टेन्डर प्रकृयाबाट लगभग १३ लाखको औषधी खरिदको सम्झौता गरिसकेका छौं। सम्झौता भएको ४/५ दिन भयो।’

अहिले खरिद गरिने औषधी अर्को वर्षका लागि हो ? भन्ने प्रश्नमा भने उनले यसै वर्षका लागि भएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट