बलात्कार मुद्दाका आरोपी जिल्ला प्रशासन कार्यालयमा ४ हजार धरौटी बुझाएर छुटेपछि…

काठमाडौं– बलात्कार मुद्दामा अढाई महिनादेखि पुर्पक्षका लागि केन्द्रीय कारागारमा रहेका रसुवाको कालिका गाउँपालिका–५ का ३५ वर्षीय सूर्यबहादुर तामाङ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ४ हजार धरौटी बुझाएर जेलमुक्त भएको खुलासा भएको छ।

तामाङ चलाखीपूर्ण तरिकाले कारागार प्रशासन र जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई झुक्याएर जेल मुक्त भएका थिए। जानकारी अनुसार बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएका तामाङ अभद्र व्यवहारको कसुरमा धरौटी बुझाएर ९ वैशाखमै रिहा भएका हुन।

जिल्ला अदालत काठमाडौंले २४ फागुन ०८० मा उनलाई पुर्पक्षका लागि केन्द्रीय कारागार चलान गर्ने आदेश दिएको थियो। सूर्यबहादुरले त्यो आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए। उच्चले २५ वैशाखमा उनलाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

तर, यस अघि नै उनी छुटिसकेको प्रहरी स्रोत बताउँछ। स्रोतका अनुसार तामाङ कारागारमा रहेकै वेला सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का २२ वर्षीय सविन तामाङ पनि थुनामा पुगेका थिए। १४ फागुनमा पक्राउ परेका सविनलाई प्रहरी वृत्त बालाजुले अभद्र व्यवहारको मुद्दा चलाएको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई ४ हजार धरौटीमा रिहा गर्न आदेश दिएपनि धरौटी वुझाउने रकम नहुँदा उनी कारागार चलान भए। कारागारमा सविन र सूर्यबहादुरको चिनजान भयो। सविनको कुरा सुनेपछि सूर्यवहादुरले उनलाई प्रलोभनमा पारी उनले तिर्नुपर्ने धरौटी रकम बुझाएर आफु रिहा भएको प्रहरीको भनाई छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले ‘आफू छुटेपछि सविनलाई पनि छुटाउने आश्वासन दिएर’ सूर्यबहादुर चलाखीपूर्ण तरिकाले जेलमुक्त भएको वताए। सूर्यवहादुरले कारागारका सुरक्षाकर्मीलाई पनि आफु नै सविन भएको विश्वास दिलाएका थिए। त्यसपछि उनी सविन तामाङको नाममा धरौटी बुझाउन जिल्ला प्रशासन कार्यालय पुुगे।

सूर्यबहादुर छुटेको करिब ३ घण्टापछि उनको नाममा अदालतबाट पत्र आयो। खोजतलास गर्दा सूर्यबहादुर कारागारमा नभेटिएपछि उनी सविन तामाङको नाममा छुटेको खुलेको थियो। यद्यपी उनी फेरी पक्राउ परेका छन्।

सूर्यबहादुरलाई प्रहरीले १० वैशाखको राति पौने १२ बजे टोखा नगरपालिका–८ बानियाँटारबाट पक्राउ गरेको थियो। कैदी भागे÷भगाएको अर्को कसुरमा उनलाई प्रहरी वृत्त जनसेवाले हिरासतमा राखेर उनको विषयमा अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट