नगरप्रहरीले कार्यालयको कागजात कब्जा गरेपछि वडाध्यक्ष र बालेन्द्र साहको चर्काचर्की

काठमाण्डौं– काठमाण्डौं महानगरपालिका–२२ को कार्यालयबाट नगरप्रहरीले सम्पूर्ण कागजात कब्जा गरेको विषयमा मेयर बालेन्द्र साह र वडाध्यक्ष चिनीकाजी महर्जनबीच चर्काचर्की भएको छ।

शुक्रबार बिहान बसेको कार्यपालिका बैठकको सुरुमै वडाध्यक्ष महर्जनले मेयरसँग विवाद गरेका हुन। कार्यापालिका बैठकमा विषयवस्तु प्रवेश गर्नुअघि नै महर्जनले समय मागेर आफ्ना कुरा राख्न थालेका थिए। बिहीबार वडा कार्यालयबाट नगर प्रहरीले सम्पूर्ण कागजात उठाएर लगेकोबारे उनले मेयर साहसँग प्रश्न गरे।

उनले भने– ‘कामपा वडा नम्बर २२ मा म नहुँदा मेरो जानकारी बिना नगर प्रहरी आएर ६÷७ बोरा फाइल लिएर गयो। यो २२ नम्बर वडामा मात्रै भएको हो कि? अन्त पनि भएको हो?’ कसको आदेशमा यस्तो भएको र किन भएको भन्दै महर्जनले कार्यपालिका बैठकमा प्रश्न उठाए।

सेवाग्राहीका काम गर्न कागजपत्र नहुँदा समस्या भएको भन्दै उनले थपे–‘यो डकैतीको शैलीमा के गर्न खोज्नुभएको हो? महानगरमै यो के भएको? म पनि जनताले चुनेर आएको मान्छे हो।’ उनले यसरी प्रश्न गरेपछि प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जवाफ दिए।

उनले घरबाहल करसम्बन्धी अध्ययनका लागि त्यसरी कागजपत्र ल्याईएको बताए। ‘राजस्व विभागबाट केही फरक देखिएकाले २२ नम्बरमा मात्रै नभइ अरु वडामा पनि आन्तरिक राजस्व विभागसँग सहकार्यमा काम भएको हो,’ उनले जवाफ दिए।

त्यसपछि वडाध्यक्ष चर्किदै ‘हामी वडावासीलाई कुनै लालपूर्जाको फोटोकपी भएन भने त्यो मात्रै फोटोकपी गरेर पठाउँछौँ। तर, के गर्न खोजिएको हो? म प्रतिपक्षी हो र? म पनि मेयरसाब जस्तै जनताले चुनेर पठाएको जनप्रतिनिधि हुँ’ भन्दै उनले प्रतिवाद गरे।

त्यसपछि उनले न्युरोडको फुटपाथ विस्तारको विषय उठाउँदै ‘देशकै पपुलर ल्यान्डमा सडक बनाउने कुरा मैले पत्रिका पढेर थाहा पाउनुपर्ने?’ भन्दै प्रश्न गरे। त्यसपछि भने मेयर साह आफैँ प्रतिवादमा उत्रिए। ‘तपाईंको वडामा पत्रिका पढेर थाहा पाउनुभयो? तपाईंकोमा कि २४ नम्बर वडामा?’ उनले प्रश्न गरे।

मान्छेलाई हिँड्न गाह्रो भयो, सेक्सुयर ह्यारेसमेन्ट भयो, पाकेटमार बढ्यो भनेपछि फुटपाथ विस्तार गर्न लागिएको उनले दावी गरे। दुई जनाबीच करिव १५ मिनेटसम्म विवाद भएको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट