पुण्य गौतमलाई आक्रमण गर्ने दुर्गा प्रसाईँका कार्यकर्ता जेल चलान, प्रसाईँमाथि किन भएन अनुशन्धान ?

काठमाडौँ– सामाजिक अभियन्ता पुण्य गौतमको ज्यान मार्न परिचालित भएका दुर्गा प्रसाईका २ जना कार्यकर्ता जेल चलन भएका छन्।

काभ्रेपलान्चोक तिमाल घर भई भक्तपुरको च्यामासिहं बस्ने टाँसी लामा भनिने सञ्जीव तामाङ (३०) र रसुवा नवकुण्ड गाउँपालिका–५ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने मिलन भनिने दिलबहादुर गङदान (४१) पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमको इजलासले बुधबार उनीहरुलाई कारागार चलान गर्ने आदेश दिएको हो। थुनछेक बहसपछि अभियुक्तहरूलाई प्राप्त प्रमाणका आधारमा पुर्पक्षमा थुनामा राख्न आदेश दिएको हो। अन्तिम फैसला भने अर्को पेशीमा हुनेछ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरूविरुद्ध पाँच वर्ष जेल सजायको माग दाबी गरेको छ। प्रहरीको अनुशन्धान अनुसार गङदानको निर्देशनमा तामाङले गौतममाथि आक्रमण गरेका थिए। उनीहरु ‘भाइरल म्यान दुर्गा प्रसाईं’को अभियानका सदस्य हुन्। उनीहरूविरुद्ध मुद्दा चले पनि दुर्गा प्रसाईंविरुद्ध भने अनुसन्धान भएको छैन।

गौतममाथि २१ असोजको बेलुका आक्रमण भएको थियो। घटनास्थलबाट प्रहरीले अभियुक्तको टोपी र रडसमेत बरामद गरेको थियो। रडको प्रहारले गौतमको टाउकोमा गहिरो चोट लागेको थियो। उनलाई तत्काल स्थानीयले नेपाल मेडिकल कलेज, जोरपाटी पु¥याएका थिए। आइसीयुमा राखेर उपचार भएको उनको टाउकोमा दर्जन बढी टाँका लगाइएको छ।

प्रहरीसँगको बयानमा तामाङले गङदानबाट १ लाख पाउने सर्तमा गौतममाथि आक्रमण गरेको वताएका छन्। आक्रमणपूर्व १० हजार र त्यसपछि ४० हजार रुपैयाँ पाएको वताएका उनले बाँकी पैसा नपाएको भन्दै गुनासो गरेका छन्। उनीहरूले अदालतमा भने इन्कारी बयान दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट