झापा–५ मा चुनावको ‘मनोवैज्ञानिक युद्ध’: किन ओलीको तालिकासँगै घरदैलो जुधाउँदै छन् बालेन ?

दमक– झापा–५ को चुनावी मैदान यतिबेला असाधारण राजनीतिक टकरावको केन्द्र बनेको छ। देशका पूर्वप्रधानमन्त्री तथा एमाल अध्यक्ष केपी शर्मा ओली नेतृत्वको परम्परागत शक्ति र नयाँ राजनीतिक शैली बोकेर उभिएका बालेन्द्र साह (बालेन) बीचको प्रत्यक्ष भिडन्तले चुनावलाई रणनीतिक मनोवैज्ञानिक युद्धको रूप दिएको छ।

यही सन्दर्भमा एउटा प्रश्न लगातार उठिरहेको छ। किन बालेनले बारम्बार ओलीकै घरदैलो कार्यक्रमसँग समय जुधाएर आफ्नो अभियान सञ्चालन गरिरहेका छन? यसपटकको निर्वाचनमा एमाले अध्यक्ष ओली आफ्नै निर्वाचन क्षेत्र झापा–५ मा सीमित जस्तै देखिएका छन्। विगतका चुनावहरूमा देशभर सयौँ स्थानमा आमसभा र कोणसभा गरेर माहोल बनाउने एमालेले यसपटक भने ठूला सभा आयोजना गर्न सकेको छैन।

ओली दमक केन्द्रित भएर चुनावी अभियान चलाइरहेका छन् र मतदाता भेटघाटमा व्यस्त छन्। यसले उनीमाथि चुनाव जित्नैपर्ने दबाब रहेको संकेत गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्। तर त्यही मैदानमा प्रतिस्पर्धामा उत्रिएका बालेन साह पनि पूर्ण रूपमा ढुक्क देखिएका छैनन्। बरु, उनले अपनाएको चुनावी रणनीति झन् आश्चर्यजनक देखिन्छ।

उम्मेदवारी दर्ता गर्ने दिन बिहान मात्र झापा–५ प्रवेश गरेका बालेनले चुनावी अभियान सुरु गर्ने शैली नै फरक बनाएका थिए। उम्मेदवारी दर्तापछि उनी एक रात दमकमा बसेर पूर्वका पहाडी जिल्लाहरू हुँदै सुदूरपश्चिमसम्मको दौडाहमा निस्किए, जबकि ओली भने दमकमै बसेर स्थानीय नेता–कार्यकर्तालाई प्रशिक्षण दिँदै चुनावी तयारीमा केन्द्रित रहे। तर केही समयमै परिस्थिति फेरियो। बालेन दोस्रोपटक दमक फर्किएपछि उनले घरदैलो अभियान सुरु गर्ने समय र स्थान नै यस्तो बनाइदिए, जसले ओलीको चुनावी तालिकासँग प्रत्यक्ष भिडन्त जस्तै अवस्था सिर्जना गर्यो।

राजनीतिक रूपमा हेर्दा यो केवल संयोग थिएन। बालेनले ओलीको सार्वजनिक घरदैलो तालिका नै अध्ययन गरेर मतदाता भेटघाटको समय जुधाइरहेको देखिन्छ। ओली कुनै बस्तीमा पुग्ने तयारी गर्दा बालेन पनि सोही क्षेत्रको वरपर देखिन थाले। कतिपय दिन त यस्तो अवस्था बन्यो कि बालेनको टोली अघि–अघि र ओलीको टोली पछि–पछि जस्तै देखियो। यसले चुनावी प्रतिस्पर्धालाई मत माग्ने अभियानबाट टाढा मनोवैज्ञानिक प्रभावको खेलमा रूपान्तरण गरिदिएको छ।

विश्लेषकहरूका अनुसार यसको मुख्य उद्देश्य मतदाताको ध्यान आफूमा केन्द्रित राख्नु हो। झापा–५ मा बालेन नयाँ अनुहार भएकाले धेरै मतदाताले उनलाई प्रत्यक्ष भेटेका थिएनन्। सामाजिक सञ्जालमार्फत बनेको लोकप्रियतालाई वास्तविक मतमा बदल्न उनले ‘प्रत्यक्ष सम्पर्क’लाई प्राथमिकता दिएका छन्। त्यसैले उनले मतदाताको ध्यान अन्यत्र मोडिन नदिन ओलीको कार्यक्रमसँगै आफ्नो अभियान जुधाएर सञ्चालन गरिरहेका छन्। यसले स्थानीयस्तरमा ‘कुन नेता कहाँ पुगे’ भन्ने प्रतिस्पर्धात्मक चर्चा नै सिर्जना गरिरहेको छ।

बालेनको अभियान शैली परम्परागत राजनीतिभन्दा फरक देखिएको छ। उनी ठूलो समूहमा बसेर भाषण गर्नेभन्दा गाउँ–गाउँ, घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। वृद्धवृद्धासँग आशीर्वाद लिने, युवासँग सेल्फी खिच्ने, सुकुम्बासी बस्तीमा गएर लालपुर्जा र विकासका विषयमा छलफल गर्ने शैलीले उनले अपनाएका छन्।

यसको विपरीत, ओलीको चुनावी रणनीति परम्परागत राजनीतिक ढाँचामै देखिन्छ। उनले तालिका बनाएर समूहगत भेटघाट, संघ–संस्था र समुदायसँग छलफल तथा कार्यकर्तामार्फत पनि मत माग्ने अभियानलाई प्राथमिकता दिएका छन्। दमक र कमल गाउँपालिकामा उनको घरदैलो सामान्य रूपमा अघि बढे पनि गौरादह र गौरीगञ्ज क्षेत्रमा मतदाताले खुलेर गुनासा राखेका घटनाले चुनावी वातावरणलाई थप जटिल बनाएको छ। लालपुर्जा, पूर्वाधार र स्थानीय विकाससँग सम्बन्धित मुद्दाले ओलीलाई प्रत्यक्ष प्रश्नको घेरामा पारेको देखिन्छ।

यही कारणले ओली केही समयपछि आफ्नो अभियानको ढाँचा परिवर्तन गरेर घरदैलोहित समूहगत भेटघाट र संगठनात्मक सुदृढीकरणतर्फ पनि केन्द्रित भएका छन्। उनी शिक्षक संगठन, समुदाय विशेष, उद्योगी–व्यवसायी र विभिन्न पेशागत समूहसँग बैठक गर्दै समर्थन जुटाउने प्रयासमा छन्। तर बालेन भने त्यसबीच पनि गाउँ–गाउँ पुग्ने रणनीतिमा देखिएका छन्।

यसरी हेर्दा झापा–५ को चुनाव केवल दुई उम्मेदवारबीचको प्रतिस्पर्धा मात्र होइन, ओली र बालेन बीचको प्रत्यक्ष भिडन्त बनेको छ। बालेनले ओलीसँग घरदैलो कार्यक्रम जुधाउने रणनीति अपनाउनुको मुख्य कारण मतदाताको ध्यान कब्जा गर्नु, आफ्नो उपस्थितिलाई निरन्तर चर्चामा राख्नु र परम्परागत राजनीतिक प्रभुत्वलाई चुनौती दिनु भएको विश्लेषण भइरहेको छ।

यस्तो छ ओली र बालेनको वितेको चुनावी कार्यक्रम
– ६ माघमा उम्मेदवारी दर्ता गर्ने तयारीका साथ केपी शर्मा ओली एक दिनअघि अर्थात् ५ माघमै झापा पुगेका थिए। त्यसको ठीक उल्टो शैलीमा बालेन्द्र शाह भने उम्मेदवारी दर्ताकै दिन बिहान करिब ११ बजे मात्रै झापा–५ प्रवेश गरे। उम्मेदवारी दर्ता सम्पन्न भएपछि बालेनले दमकमा एक रात बिताए र ७ माघदेखि पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ हुँदै मध्य पहाडी लोकमार्ग समेट्दै सुदूरपश्चिमसम्मको लामो राजनीतिक दौडाह सुरु गरे। उता ओली भने दमकमै बसेर चुनावी तयारी, संगठन सुदृढीकरण र रणनीति बनाउन केन्द्रित रहे।

– उम्मेदवारी दर्ता सकिएपछि ओली थप चार दिन दमकमै बसेर स्थानीय नेताकार्यकर्तासँग बैठक, समन्वय र चुनावी तयारीमा जुटे र त्यसपछि मात्रै काठमाडौं फर्किए। त्यसबीच बालेन दोस्रोपटक १९ माघमा दमक पुगे। २० माघको बिहानै उनले कमल गाउँपालिकाको सुकुम्वासी बस्तीबाट घरदैलो अभियानको औपचारिक सुरुवात गरे। २१ माघमा गौरादह, गौरीगञ्जलगायतका गाउँहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेपछि बालेन फेरि पहाडी र हिमाली जिल्लातर्फ उक्लिए।

– ओली २३ माघमा पुनः झापा फर्किए र २४ माघको बिहान झापा–५ अन्तर्गत कमल गाउँपालिकाबाट घरदैलो कार्यक्रम सुरु गरे। त्यही क्रममा २५ माघको दिउँसो बालेन पनि अचानक दमक आइपुगे। सोही दिन ओली झापा–५ को दक्षिणी भेगमा मतदाता भेटघाट र घरदैलोमा सक्रिय थिए भने कुनै पूर्वसूचना बिना दमक पुगेका बालेनले झापा–५ को सिरान क्षेत्रतर्फ केन्द्रित हुँदै दमक नगरपालिका–१, २ र ३ नम्बर वडामा तीव्र घरदैलो अभियान चलाए।

– २६ माघमा बालेन सप्तरी र सिरहा हुँदै तराईका पश्चिमी जिल्लाहरूको राजनीतिक दौडाहमा निस्किए। त्यसबीच ओली २८ माघसम्म निर्वाचन क्षेत्रमै बसेर सक्रियता बढाए र त्यसपछि काठमाडौं फर्किए। काठमाडौंमा दुई दिन व्यस्त कार्यक्रम सकेपछि ओली तेस्रोपटक ३ फागुनमा झापा फर्किए। रोचक संयोग के भयो भने ओली झापा आइपुगेकै दिन ३ फागुनको राति नै बालेन पनि दमक पुनः आइपुगे।

– ४ फागुनको बिहान ११ बजेदेखि दमक नगरपालिका–५ स्थित किराँत चोकबाट एमालेले घरदैलो कार्यक्रम सुरु गर्ने तय गरिएको थियो। तर, त्यसअगावै अघिल्लो रात दमक आइपुगेका बालेनले बिहानै ७ बजेदेखि सोही वडा नम्बर ५ बाट आफ्नो घरदैलो अभियान सुरु गरे। परिणामतः ४ र ६ फागुनमा दमक क्षेत्रमा बालेनको अभियान अघि–अघि र ओलीको कार्यक्रम पछि–पछि जस्तो दृश्य देखियो, जसले चुनावी प्रतिस्पर्धालाई झन् रोचक र तातो बनायो।

– ५ फागुनको दिउँसो बालेन रास्वपाको धनगढीमा आयोजना हुने चुनावी सभामा सहभागी हुन दमकबाट निस्किए। उता ओली ६ फागुनमा काठमाडौं फर्किए र त्यहाँ पार्टीको घोषणापत्र सार्वजनिक गर्ने लगायत महत्वपूर्ण राजनीतिक कार्यक्रममा व्यस्त रहे। यसैबीच बालेन धनगढी र सुर्खेततिर चुनावी अभियान विस्तार गर्दै थिए।

– ओली ९ फागुनमा चौथोपटक झापा पुगे। ओली झापा आएको खबर पाएलगत्तै बालेनले आफ्नो पार्टीको चलिरहेको चुनावी सभा नै बीचमै छोडेर १० फागुनमा दमक फर्किने निर्णय लिए। त्यसपछि ओली दमकमै बसेर मतदाता भेटघाट, घरदैलो र संगठन सुदृढीकरणमा सक्रिय रहे भने बालेनले १० र ११ फागुनमा झापा–५ का विभिन्न गाउँहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकास निर्माण, पूर्वाधार र स्थानीय अपेक्षाबारे छलफल गरे।

– १२ फागुनमा इटहरीमा सम्पन्न रास्वपाको चुनावी सभालाई सम्बोधन गरेपछि बालेन पुनः आफ्नो निर्वाचन क्षेत्र दमक फर्किएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट