सगरमाथाको डेथ जोनमै रोकियो दुई भारतीय आरोहीको सासः घातक बन्यो भीड र जोखिमपूर्ण मौसम
राजविराज— संसारकै सर्वोच्च शिखर सगरमाथा फेरि शोकमा डुबेको छ। सफल आरोहणपछि सुरक्षित फर्किने आशा बोकेका दुई भारतीय आरोहीको हिमालबाट ओर्लिने क्रममा दुःखद निधन भएपछि यस वर्षको वसन्तकालीन आरोहण सिजन पुनः त्रासदीपूर्ण बनेको छ।
पर्यटन विभाग र आधार शिविरस्थित सम्पर्क अधिकृतका अनुसार मृत्यु हुनेमा भारतीय नागरिक अरुणकुमार तिवारी र सन्दीप आरे छन्। दुवैजनाले सगरमाथाको सफल आरोहण गरिसकेपछि फर्किने क्रममा ज्यान गुमाएका हुन्।
यस वर्ष सगरमाथा क्षेत्रमा मौसमको अस्थिरता र छोटिएको आरोहण समयले असामान्य भीड सिर्जना गरेको थियो। विशेषगरी जेठ ६ गते बुधबार एकै दिन करिब २७४ भन्दा बढी आरोही शिखरतर्फ अघि बढेपछि आठ हजार मिटरमाथिको ‘डेथ जोन’ मा अत्यधिक चाप परेको थियो।
अक्सिजनको मात्रा अत्यन्त न्यून हुने, शरीरले सामान्य प्रतिक्रिया दिन छाड्ने र लामो समय टिक्नै कठिन मानिने यही क्षेत्रमा आरोहीहरू घण्टौँ पालो कुर्न बाध्य भएका थिए। यही भीड, थकान र अक्सिजन अभावले धेरै आरोही गम्भीर समस्यामा परेको आधार शिविरका अधिकारीहरूले बताएका छन्।
पर्यटन विभागका अनुसार अरुणकुमार तिवारीको निधन जेठ ७ गते बिहीबार हिलारी स्टेप नजिकै भएको हो। सगरमाथा आरोहणको सबैभन्दा जोखिमपूर्ण खण्ड मानिने उक्त क्षेत्रमा उनी अचानक गम्भीर अवस्थामा पुगेका थिए।
अर्का आरोही सन्दीप आरेलाई उद्धार टोलीले तल झार्ने प्रयास गरिरहेको अवस्थामा क्याम्प–२ मा मृत्यु भएको बताइएको छ। अत्यधिक उचाइ, कमजोर स्वास्थ्य अवस्था र लामो समयसम्मको शारीरिक थकानले दुवै आरोहीलाई बचाउन नसकिएको स्रोतले जनाएको छ।
पर्वतारोहण सञ्चालक संघका महासचिव ऋषिराम भण्डारीले सफल आरोहणपछि फर्किने क्रममा दुई भारतीय नागरिकको मृत्यु भएको पुष्टि गर्दै यस वर्षको आरोहण सिजन अत्यन्त चुनौतीपूर्ण बनेको बताएका छन्। उनका अनुसार दुई भारतीय आरोहीको मृत्युसँगै सन् २०२६ को वसन्तकालीन पर्वतारोहण सिजनमा सगरमाथा, लोत्से र मकालुसहित विभिन्न हिमालमा ज्यान गुमाउने आरोही तथा गाइडहरूको संख्या सात पुगेको छ।
यसअघि सगरमाथा क्षेत्रमा दुई नेपाली गाइड र एक उच्च हिमाली कामदारले ज्यान गुमाइसकेका छन् भने मकालु हिमालमा एक अमेरिकी र एक चेक गणतन्त्रका आरोहीको मृत्यु भएको थियो। लगातार बढ्दो मृत्युका घटनाले यस वर्षको आरोहण व्यवस्थापन, भीड नियन्त्रण र मौसम मूल्यांकन प्रणालीमाथि समेत प्रश्न उठ्न थालेको छ।
यसपटक पर्यटन विभागले सगरमाथाका लागि मात्रै इतिहासकै धेरै, करिब ४९४ वटा आरोहण अनुमति पत्र जारी गरेको थियो। ठूलो संख्यामा आरोहीहरूलाई अनुमति दिइएपछि हिमालमा भीड व्यवस्थापन चुनौतीपूर्ण बनेको पर्वतारोहण क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू बताउँछन्। मौसमले साथ दिने छोटो समयमै सयौँ आरोही एकैसाथ शिखरतर्फ अघि बढ्दा ‘ट्राफिक जाम’ जस्तै अवस्था सिर्जना भएको थियो। परिणामस्वरूप धेरै आरोहीहरूले डेथ जोनमै लामो समय बिताउनुपरेको थियो, जुन प्राणघातक मानिन्छ।
विशेषज्ञहरूका अनुसार सगरमाथाको सफल आरोहणभन्दा कठिन यात्रा सुरक्षित अवतरण हो। शिखर चुमिसकेपछि शरीर थकित हुने, अक्सिजनको मात्रा घट्दै जाने र मौसम अचानक बिग्रिन सक्ने भएकाले फर्किने क्रममा जोखिम अझ बढ्ने गर्छ। यसपटक पनि त्यही जोखिम दुई भारतीय आरोहीका लागि घातक बनेको देखिएको छ।

