रास्वपाका पालिका सभापतिद्वारा महिला कर्मचारीमाथि हातपात
राजविराज– जाजरकोटको कुशे गाउँपालिकाका सभापति विक्रम शाही ठकुरीले भरंगामा सञ्चालन गरिएको स्वास्थ्य शिविरका क्रममा महिला कर्मचारीमाथि हातपात गरेका छन्। स्वास्थ्य शिविरमा खटिएकी महिला कर्मचारी सुप्रिया राज्यलक्ष्मीले ठकुरीले आफुमाथि हातपात गरेको आरोप लगाएकी छिन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियोमा उनले आफूमाथि दुव्र्यवहार र हातपात भएको दाबी गर्दै घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गर्न माग गरेकी छन्। सुप्रियाले घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग आग्रहसमेत गरेकी छन्।
घटनाबारे आधिकारिक अनुसन्धान र सम्बन्धित निकायको निष्कर्ष आउन बाँकी रहे पनि आरोप सार्वजनिक भएसँगै रास्वपामाथि आलोचनाको वर्षा सुरु भएको छ। विशेषगरी सामाजिक सञ्जालमा पार्टीका नेता तथा कार्यकर्ताको महिलाप्रतिको व्यवहारलाई लिएर तीखा टिप्पणीहरू भइरहेका छन्।
यही क्रममा सामाजिक सञ्जाल प्रयोगकर्ता मणिलाल विश्वकर्माले व्यंग्यात्मक टिप्पणी गर्दै रास्वपाका नेता कार्यकर्ताको चरित्रमाथि प्रश्न उठाएका छन्। उनले लेखेका छन्, ‘युवती त देख्नै नहुने। कि भुँ.ी बोकाउँछन्, कि कुटपिट गर्छन् घण्टे नेताहरू !! भनेर भन्दैछन् छिमेकी साइला काकाले।’
सामान्य व्यंग्यजस्तो देखिए पनि यो टिप्पणीले रास्वपाभित्र पछिल्लो समय महिलासँग सम्बन्धित विवादहरू क्रमशः सार्वजनिक भइरहेको सन्दर्भलाई संकेत गरेको रूपमा हेरिएको छ। जाजरकोटको घटनाले चर्चा पाउनासाथ धेरैले मोरङ–२ बाट निर्वाचित रास्वपा सांसद कृष्णकुमार कार्कीसँग जोडिएको विवादलाई पनि स्मरण गरेका छन्। केही समयअघि सार्वजनिक भएको विवरणअनुसार काठमाडौंमा बस्दै आएकी २६ वर्षीया नाइजेरियन युवती रिता अजुकोले सांसद कार्की आफूलाई गर्भवती बनाएर सम्पर्कविहीन बनेको आरोप लगाएकी थिइन्।
अजुकोका अनुसार उनी र कार्की लामो समयदेखि सम्बन्धमा थिए र सँगै बस्दै आएका थिए। सम्बन्धको प्रारम्भिक चरणमा कार्कीले अत्यन्त आत्मीय व्यवहार गर्ने, भविष्यका योजना बाँड्ने र सँगै जीवन बिताउने आश्वासन दिने गरेका थिए। उनले सार्वजनिक गरेको दाबीअनुसार कार्कीले गर्भपतन नगर्न भावनात्मक आग्रहसमेत गरेका थिए।
तर गर्भावस्था अघि बढ्दै जाँदा कार्कीको व्यवहार बदलिन थालेको, सम्पर्क कम हुँदै गएको र अन्ततः आफूलाई एक्लै छाडिएको आरोप अजुकोले लगाएकी छन्। अहिले आफू आर्थिक र मानसिक संकटमा रहेको तथा जन्मिन लागेको बच्चाको जिम्मेवारी कार्कीले लिनुपर्ने उनको माग छ।
अजुकोले अस्पतालमा गरिएको कागजी प्रक्रियामा समेत पतिको नाम ‘कृष्ण कार्की’ उल्लेख गरिएको दाबी गरेकी छिन्। यद्यपि यी आरोपबारे सांसद कार्कीले सार्वजनिक रूपमा विस्तृत जवाफ दिएका छैनन्।
जाजरकोटमा महिला कर्मचारीमाथि हातपातको आरोप र सांसद कार्कीमाथि लागेको गर्भवती बनाएर बेवास्ता गरेको आरोप प्रकृतिका हिसाबले फरक विषय हुन्। एउटा घटनामा शारीरिक दुव्र्यवहारको आरोप छ भने अर्कोमा व्यक्तिगत सम्बन्ध र जिम्मेवारीसँग जोडिएको विवाद। तर दुवै घटनाले महिलासँग सम्बन्धित विषयमा रास्वपाका नेता तथा प्रतिनिधिहरूमाथि प्रश्न उठेको समान सन्दर्भ भने निर्माण गरेका छन्।
यही कारण सामाजिक सञ्जालमा अहिले जाजरकोटको घटनालाई मात्र होइन, पार्टीभित्र विगतमा उठेका महिलासँग सम्बन्धित विवादहरूलाई समेत जोडेर बहस हुन थालेको छ। आलोचकहरूका अनुसार नयाँ राजनीतिक संस्कारको दाबी गर्ने दलभित्र यस्ता आरोपहरू दोहोरिँदा पार्टीको घोषित आदर्श र व्यवहारबीचको दूरीबारे प्रश्न उठ्नु स्वाभाविक हुन्छ।
रास्वपाले विगतमा अन्य दलका नेता तथा जनप्रतिनिधिमाथि लाग्ने नैतिक, सामाजिक र सार्वजनिक आचरणसँग सम्बन्धित आरोपहरूमा कडा टिप्पणी गर्दै आएको थियो। त्यसैले अहिले आफ्नै नेता तथा सांसदमाथि प्रश्न उठिरहेका बेला पार्टीले कसरी प्रतिक्रिया दिन्छ, छानबिन र जवाफदेहितालाई कसरी अघि बढाउँछ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।
जाजरकोट घटनामा सत्यतथ्य के हो भन्ने कुरा आधिकारिक अनुसन्धानपछि मात्र स्पष्ट हुनेछ। सांसद कार्कीमाथि लगाइएका आरोपहरूको पनि कानुनी तथा तथ्यगत परीक्षण हुन बाँकी छ। तर यी दुवै घटनाले उठाएको एउटा साझा प्रश्न भने अहिले पनि कायम छ— महिलाको सम्मान, सुरक्षा र उत्तरदायित्वबारे अरूलाई पाठ पढाउने राजनीतिक दलहरूले आफ्नै घरभित्र उठेका प्रश्नहरूको जवाफ कसरी दिन्छन् ?


