विराटनगरबाट कांग्रेस नेता अभिषेक गिरी पक्राउ, कारागारका कैदीबन्दीको रकम असुलेको आरोपमा अनुसन्धान
विराटनगर– नेपाली कांग्रेसका स्थानीय नेता तथा विवादास्पद छविका अभिषेक गिरीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। जिल्ला कारागार मोरङका कैदीबन्दीलाई उपलब्ध हुने रकम अनियमित रूपमा असुलेको आरोपमा प्रहरीले शनिबार बिहान विराटनगर महानगरपालिका–१० स्थित उनकै निवासबाट गिरीलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष टोलीले बिहानै गिरीको घरमा खानतलासी गरेको थियो। प्रारम्भिक रूपमा अवैध हतियार लुकाएर राखिएको आशंकामा सर्च अपरेसन सञ्चालन गरिएको भए पनि अनुसन्धानका क्रममा कारागारभित्रका कैदीबन्दीसँग सम्बन्धित आर्थिक अनियमितताको विषयलाई केन्द्रमा राखेर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कबित कटवालका अनुसार गिरीमाथि कारागारमा रहेका कैदीबन्दीले प्राप्त गर्ने रकम आफूले लिएको आरोप लागेको छ। ‘कारागारका कैदीबन्दीलाई प्राप्त हुने पैसा उनले लगेको भन्ने आरोप छ। त्यस विषयमा थप अनुसन्धान भइरहेको छ,’ एसपी कटवालले भने।
प्रहरी स्रोतका अनुसार गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको सूचनापछि शनिबार झिसमिसेमै प्रहरी टोलीले घर घेरा हालेर खानतलासी गरेको थियो। यद्यपि खानतलासीका क्रममा हतियार फेला परे–नपरेको विषयमा प्रहरीले औपचारिक जानकारी सार्वजनिक गरेको छैन।
गिरी यसअघि अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा दोषी ठहर भई कारागार जीवन बिताइसकेका व्यक्ति हुन्। उक्त मुद्दामा कैद भुक्तान गरिरहेका बेला उनी मोरङ कारागारमा चौकीदारको भूमिकामा समेत रहेको बताइन्छ। कारागारभित्र रहँदा पनि उनी विभिन्न विवादमा मुछिएका थिए।
कैद सजाय पूरा गरी रिहा भएपछि गिरी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए। पछिल्ला दुई वर्षयता उनी कांग्रेसको स्थानीय राजनीतिक गतिविधिमा देखिँदै आएका थिए। तर कारागार प्रशासन र कैदीबन्दीसँग सम्बन्धित गतिविधिमा उनको प्रभाव कायम रहेको आरोप समय–समयमा उठ्दै आएको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मकेन्द्रकुमार मिश्रले पनि विशेष सूचनाका आधारमा गिरीको घरमा खानतलासी गरिएको पुष्टि गरे। उनका अनुसार पक्राउपछि गिरीमाथि विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले हालसम्म उनीविरुद्ध कुन कानुनी प्रावधानअन्तर्गत मुद्दा दर्ता गर्ने भन्ने विषयमा निर्णय गरिसकेको छैन। प्राप्त प्रमाण, कैदीबन्दीको बयान तथा आर्थिक कारोबारसम्बन्धी विवरणका आधारमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।

