१०४ ग्रामभन्दा बढी ब्राउन सुगरसहित सप्तरीमा ६२ वर्षीय चौधरी पक्राउ
राजविराज — सप्तरी प्रहरीले १०४.८६ ग्राम ब्राउन सुगर (खैरो हेरोइन) सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खडक नगरपालिका–५ खोजपुरका ६२ वर्षीय अमिन चौधरी छन्। उनीविरुद्ध लागूऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार विशेष सूचनाका आधारमा असार १६ गते दिउँसो बोदेबर्साइन नगरपालिका–२ गौरा क्षेत्रमा चेकजाँचका क्रममा चौधरी पक्राउ परेका हुन्।
प्रहरीले बोदेबर्साइनबाट विष्णुपुर चोकतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००५ प २८८३ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल रोकी खानतलासी गरेको थियो। सो क्रममा मोटरसाइकलको टुलबक्सभित्र कालो प्लास्टिकले बेरेर सेतो प्याकेटमा लुकाएर राखिएको अवस्थामा खैरो हेरोइन फेला परेको प्रहरीको भनाइ छ।
पक्राउ परेका चौधरीलाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हेमराज घिमिरेले जानकारी दिए। अनुसन्धानका लागि सप्तरी जिल्ला अदालतबाट असार १६ गतेदेखि लागू हुने गरी सात दिनको म्यादसमेत प्राप्त भएको छ।

