सप्तरी कारागारमा गोली चल्यो, एक प्रहरी जवान घाईते
राजविराज— सप्तरी कारागारको सुरक्षामा खटिएका एक प्रहरी जवान सहकर्मीले बोकेको एसएलआर राइफलबाट गोली चल्दा गम्भीर घाइते भएका छन्। बुधबार राति राजविराज नगरपालिका–६ स्थित कारागार परिसरमा भएको घटनापछि गोली चलेको हतियार बोकेका प्रहरी जवानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।
घाइते हुनेमा नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवर (धनुषा) दरबन्दीका २२ वर्षीय प्रहरी जवान बिसोजित राय यादव रहेका छन्। उनको कम्मरमाथिको ढाडको भागमा गोली लागेको छ। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम्प) पठाइएको छ।
कारागार प्रशासनका अनुसार घटना बुधबार राति करिब साढे ११ बजे कारागार सुरक्षा गार्डको ‘ए’ ब्लकअन्तर्गत पोस्ट नम्बर–३ नजिक भएको हो। राति १० बजेदेखि २ बजेसम्मको सुरक्षा ड्युटीमा रहेका यादव शौचालयबाट आफ्नो पोस्टतर्फ फर्किरहेका बेला पोस्ट नम्बर–४ मा खटिएका प्रहरी जवान अजय कुमार मेताले बोकेको एसएलआर राइफलबाट एक राउन्ड गोली चलेको थियो।
कारागार प्रमुख रूपक मण्डलका अनुसार अचानक चलेको गोली यादवको ढाडमा लागेपछि उनी घटनास्थलमै घाइते भएका थिए। त्यसलगत्तै सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज पुर्याएका थिए। चिकित्सकले थप उपचार आवश्यक रहेको निष्कर्ष निकालेपछि उनलाई धरान रेफर गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हेमराज घिमिरेले पनि सहकर्मीले बोकेको हतियारबाट गोली चलेर प्रहरी जवान यादव घाइते भएको पुष्टि गरेका छन्। उनका अनुसार घटनापछि हतियार बोकेका प्रहरी जवान अजय कुमार मेहतालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
प्रहरी स्रोतका अनुसार मेहता हाल जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा छन्। गोली कसरी चल्यो, हतियार सञ्चालनमा लापरबाही भएको हो वा अन्य कुनै कारणले घटना भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कारागारजस्तो उच्च सुरक्षा संवेदनशील क्षेत्रमा ड्युटीकै क्रममा हतियारबाट गोली चलेर प्रहरी जवान घाइते भएपछि सुरक्षा प्रोटोकल, हतियार सञ्चालन प्रक्रिया र ड्युटी व्यवस्थापनबारे समेत प्रश्न उठेको छ। यद्यपि घटनाको कारणबारे निष्कर्षमा पुग्न प्रहरी अनुसन्धानको प्रतिवेदन पर्खिनुपर्ने अवस्था रहेको अधिकारीहरूले बताएका छन्।
घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

