दुषित रिसोर्टमा रवि–स्वर्णिमको २४ घण्टे ‘रिट्रिट: सरकार–पार्टीको तनावले जुराएको गोप्य भेट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार र पार्टी नेतृत्वबीच समन्वयको विषय चर्चामा रहेका बेला पार्टी सभापति रवि लामिछाने र उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्टमा करिब २४ घण्टा बिताएर काठमाडौं फर्किएका छन्। दुवै नेताको यो बसाइलाई पार्टीभित्र चलिरहेको शक्ति सन्तुलन, सरकार सञ्चालन र मन्त्रीहरूको कार्यसम्पादनबारे भइरहेका आन्तरिक छलफलसँग जोडेर हेरिएको छ।
सुरक्षा तथा पार्टी स्रोतका अनुसार अर्थमन्त्री वाग्ले शनिबार दिउँसो करिब ३ बजे रिसोर्ट पुगेका थिए भने केही समयपछि सभापति लामिछाने पत्नी निकितासहित त्यहाँ पुगेका थिए। उनीहरू आइतबार अपराह्न करिब २ः२० बजे रिसोर्टबाट काठमाडौं फर्किएका हुन्। रिसोर्टमा उनीहरू वाग्लेको लगानी रहेको निजी भिल्लामा बसेका थिए।
रास्वपा स्रोतले यसलाई ‘व्यक्तिगत विश्राम तथा बिदा’का रूपमा व्याख्या गरेको भए पनि पछिल्ला राजनीतिक घटनाक्रमका कारण यो भेटलाई सामान्य रूपमा लिइएको छैन। विशेषगरी प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र अर्थमन्त्री वाग्लेबीच सम्बन्ध चिसिएको चर्चा चलिरहेका बेला पार्टीका दुई शीर्ष नेताले राजधानीबाहिर छुट्टै समय बिताउनु अर्थपूर्ण मानिएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री बालेनले हालै सभापति लामिछानेसँगको छलफलमा अर्थमन्त्री वाग्लेको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए। अर्थतन्त्र व्यवस्थापन, सेयर बजारको अवस्था, वैदेशिक ऋणमा निर्भरता तथा आर्थिक गतिविधिमा अपेक्षित सुधार ल्याउन नसकेको विषयमा प्रधानमन्त्री पक्षले प्रश्न उठाएको बताइन्छ।
प्रधानमन्त्री निकट स्रोतहरूले धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्तिको विषयलाई समेत असन्तुष्टिको कारणका रूपमा उल्लेख गरेका छन्। वाग्लेले आफ्नो निकटस्थ व्यक्तिलाई नियुक्त गरेर स्वार्थ बाझिने अवस्था सिर्जना गरेको आरोप प्रधानमन्त्री पक्षबाट उठाइएको स्रोतको दाबी छ। यद्यपि यसबारे अर्थमन्त्री वाग्लेले सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।
पार्टीभित्रको अर्को पक्षले भने प्रधानमन्त्रीबाट मन्त्रालयहरूको काममा अनावश्यक हस्तक्षेप भइरहेको गुनासो गर्दै आएको बताइन्छ। स्रोतका अनुसार सभापति लामिछानेले पनि केही मन्त्रीहरूको कार्यसम्पादनबारे असन्तुष्टि जनाएका छन्। स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, महिला, बालबालिका मन्त्री सीता बादी, पर्यटनमन्त्री खड्कराज पौडेल तथा कृषिमन्त्री गीता चौधरीको कार्यसम्पादनबारे पार्टी नेतृत्व तहमा समीक्षा भइरहेको चर्चा छ।
असार २४ गते प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँग भएको छलफलमा अर्थमन्त्री वाग्ले सहभागी नभएको घटनालाई पनि राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको थियो। त्यसयता प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढेको चर्चा चलिरहँदा सभापति लामिछानेले सहजीकरणको भूमिका खेलेको स्रोतहरूको भनाइ छ।
यही पृष्ठभूमिमा भएको धुलिखेल बसाइमा सरकार र पार्टीबीचको समन्वय, मन्त्रीहरूको कार्यसम्पादन, प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्ध तथा आगामी राजनीतिक रणनीतिबारे छलफल भएको हुनसक्ने अनुमान राजनीतिक वृत्तमा गरिएको छ। यद्यपि बैठकमा के विषयमा कुरा भयो भन्नेबारे रास्वपाले औपचारिक जानकारी दिएको छैन।
जिल्ला प्रहरी कार्यालय काभ्रेका एक अधिकारीका अनुसार दुवै नेता निजी प्रयोजनका लागि रिसोर्ट पुगेका थिए। उनीहरूको बसाइबारे कुनै विशेष सुरक्षा वा प्रशासनिक समन्वय नगरिएको र नियमित प्रोटोकलअनुसार मात्रै सुरक्षा व्यवस्थापन गरिएको थियो।
रिसोर्ट बसाइमा पार्टीका अन्य शीर्ष नेता सहभागी नभएको स्रोतले जनाएको छ। लामिछाने पत्नी निकितासहित पुगेका थिए भने वाग्ले पनि पारिवारिक परिवेशमै बसेका थिए।
यद्यपि सरकार सञ्चालन, मन्त्री हेरफेरको सम्भावना र पार्टीभित्र बढ्दो असन्तुष्टिका चर्चा चलिरहेका बेला भएको यो २४ घण्टे भेटघाटले रास्वपाभित्रको शक्ति समीकरण र आगामी राजनीतिक निर्णयबारे नयाँ प्रश्नहरू भने जन्माएको छ। औपचारिक रूपमा यसलाई ‘बिदा मनाउन गरिएको बसाइ’ भनिए पनि राजनीतिक वृत्तले भने यसलाई पार्टी र सरकारको भावी दिशाबारे संकेत खोज्ने घटनाका रूपमा हेरिरहेको छ।

