भोटेकोशी वाढिपछि सम्पर्कविहीन भएका सप्तरीका ३६ जना मध्ये ७ जना सम्पर्कमा, २९ जनाको खोजी जारी
राजविराज– भोटेकोशी नदीमा आएको बाढीपछि चार दिनदेखि सम्पर्कविहीन रहेको भन्दै सप्तरी प्रशासनमा परेको ३६ जनाको खोजी निवेदनमध्ये शनिबार बिहानसम्म ७ जना सम्पर्कमा आएका छन्। उनीहरू उद्धारको पर्खाइमा रहेको जानकारी प्रशासनले पाएको छ भने बाँकी २९ जनाको अवस्था अझै अज्ञात छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक सीडीओ नरेशकुमार यादवका अनुसार सम्पर्कमा आउनेमध्ये बलानबिहुल गाउँपालिका–६ सेहराका एउटै परिवारका तीन जना छन्। रसुवा सदरमुकामस्थित विद्यालयका शिक्षक ३४ वर्षीय सुरेशकुमार यादव, उनकी २८ वर्षीया श्रीमती सरिता यादव र ८ वर्षीया छोरी ईभिन्जलीना यादव शनिबार बिहान परिवारको सम्पर्कमा आएका हुन्।
त्यसैगरी राजविराज नगरपालिका–२ का ३३ वर्षीय दिपक देव, कञ्चनरुप नगरपालिका–८ का २४ वर्षीय अजय मरिक, रुपनी गाउँपालिका–१ का २५ वर्षीय गिरधारीलाल कुमार साह र अग्निसाइर कृष्णासवरन गाउँपालिका–१ जण्डोलका २५ वर्षीय कृष्णकुमार चौधरी पनि सम्पर्कमा आएको प्रशासनले जनाएको छ।
देव रसुवास्थित चिलिमे हाइड्रोपावरमा इन्जिनियर, मरिक रसुवामा प्रहरी कार्यालय सहयोगी, साह नुवाकोटको नयाँपुलमा बस्ने र चौधरी रसुवामा कार्यरत रहेको प्रशासनको विवरणमा उल्लेख छ। तर, प्रशासनमा परेको नामावलीअनुसार ठूलो संख्यामा नागरिक अझै परिवारको सम्पर्कमा आउन सकेका छैनन्।
तीमध्ये जलविद्युत आयोजना, निर्माण कम्पनी, विद्यालय तथा विभिन्न प्राविधिक क्षेत्रमा कार्यरत व्यक्तिहरू छन्। महदेवा गाउँपालिका–२ का २८ वर्षीय देवकुमार ईसर रसुवा हाइड्रोपावरमा कार्यरत थिए। खडक नगरपालिका–७ की २० वर्षीया सुनिता राम नुवाकोटको त्रिशूली बजारमा काम गर्दै आएकी थिइन्।
विष्णुपुर गाउँपालिका–१ का ३५ वर्षीय अजयकुमार यादव रसुवामा प्राविधिक शिक्षकका रूपमा कार्यरत थिए र वेत्रावतीमा बस्दै आएका थिए। त्यस्तै तिलाठी कोइलाडी गाउँपालिका–४ का ३२ वर्षीय सञ्जय साह रसुवाको पावरहाउस ‘यूटीए थ्री ए’मा कार्यरत थिए।
तिरहुत गाउँपालिका–४ डिमनका ४४ वर्षीय रविन्द्रकुमार यादव त्रिशूली जेसी हाइड्रोपावरका इन्जिनियर हुन्। महदेवा गाउँपालिका–२ का ३४ वर्षीय इन्द्रनारायण इसर रसुवा अपर हाइड्रोपावरमा कामदारका रूपमा कार्यरत थिए। उनीहरू सबैको खोजीका लागि परिवारले प्रशासनमा निवेदन दिएका छन्।
राजगढ गाउँपालिका–२ बनैनियाँका २४ वर्षीय राजिवकुमार सिंह पनि सम्पर्कविहीनको सूचीमा छन्। उनी रसुवा अपर त्रिशूलीमा इन्जिनियरका रूपमा कार्यरत थिए। सुरुङ्गा नगरपालिका–२ का २३ वर्षीय सरोज चौधरी मेलुङ हाइड्रोपावरमा काम गर्दै आएका थिए।
कञ्चनरुप नगरपालिका–६ सितापुरका ४० वर्षीय अनिल विश्वकर्मा फेवा कन्स्ट्रक्सनमार्फत बेत्रावतीमा कार्यरत थिए। महदेवा गाउँपालिका–५ अकबर टोलका २८ वर्षीय सन्तोष यादव रसुवामा ओभरसियर थिए। शम्भुनाथ नगरपालिका–४ का २३ वर्षीय दिलिपकुमार मण्डल मेलुङ जलविद्युत आयोजनामा इन्जिनियरका रूपमा कार्यरत थिए।
फेवा कन्स्ट्रक्सन बेनी–नयाँपुल, रसुवामा कार्यरत शम्भुनाथ नगरपालिका–३ का ४५ वर्षीय रमेश चौधरी, ४५ वर्षीय हृदयनारायण चौधरी, २७ वर्षीय सुरेन्द्रदेव चौधरी र ३५ वर्षीय दिपेन्द्र चौधरी पनि सम्पर्कविहीन रहेको भन्दै परिवारले खोजीका लागि प्रशासनमा निवेदन दिएका छन्।
शम्भुनाथ नगरपालिका–३ कै २४ वर्षीय प्रेमसागर चौधरी रसुवामा कार्यरत थिए। वडा नम्बर–६ कठौनाका २४ वर्षीय साजन चौधरी सिनो हाइड्रोपावर, रसुवामा कार्यरत थिए। सोही वडाका ३७ वर्षीय ओमप्रकाश चौधरी नेपाल विद्युत प्राधिकरणको अपर त्रिशूली आयोजनामा कार्यरत थिए।
शम्भुनाथ–३ का २२ वर्षीय त्रिभुवनकुमार मण्डल नुवाकोटमा कार्यरत थिए। बोदेबर्साइन नगरपालिका–८ काचनका ३५ वर्षीय शिवकुमार यादव, ३१ वर्षीय देवकुमार यादव र २५ वर्षीय सचिन यादव जेसी हाइड्रोपावर, रसुवामा कार्यरत थिए।
विष्णुपुर गाउँपालिका–१ का ३८ वर्षीय सन्तोष यादव अपर त्रिशूलीमा इन्जिनियरका रूपमा कार्यरत थिए भने राजगढ गाउँपालिकाका ३२ वर्षीय विजय यादव पनि अपर त्रिशूलीमै कार्यरत रहेको प्रशासनले जनाएको छ।
सप्तरीबाहेक बाराका एक जना र भारत बिहारका एक जना पनि सम्पर्कविहीनको सूचीमा छन्। बाराको सुवर्ण गाउँपालिका–३ अरैयाका २५ वर्षीय रुपेश गुप्ता (साह) नौकुण्ड गाउँपालिका–२ स्थित नवज्योति विद्यालयका शिक्षक हुन्। भारतको बिहार, मधुबनी, बलुवा निवासी २८ वर्षीय सरोजकुमार गुप्ता रसुवा हाइड्रोपावरमा कामदारका रूपमा कार्यरत थिए। उनीहरूको खोजी तथा उद्धारका लागि पनि परिवारजनले प्रशासनसमक्ष निवेदन दिएका छन्।
प्रशासनमा लिखित तथा मौखिक रूपमा प्राप्त भएका खोजी तथा उद्धारसम्बन्धी नामावली गृह मन्त्रालयमा पठाइसकिएको सहायक सीडीओ यादवले बताए। ‘प्रशासन कार्यालयमा लिखित तथा मौखिकरूपमा आएको खोजी तथा उद्धारका नामावली हामीले गृहमन्त्रालयमा पठाइसकेका छौं,’ यादवले भने, ‘सम्पर्कविहीन रहेकाहरू मध्ये हालसम्म ७ जना सम्पर्कमा आएर उद्धारको पर्खाइमा रहेको जानकारी पाएका छौं, हामीसमक्ष आउने जानकारी अविलम्ब गृहमन्त्रालयमा पठाउने गरेका छौं।’
यससँगै सप्तरी प्रशासनमा परेको ३६ जनाको प्रारम्भिक खोजी सूचीमध्ये ७ जनासँग सम्पर्क स्थापित भए पनि उनीहरू अझै उद्धारको प्रतीक्षामा रहेको प्रशासनको भनाइ छ। बाँकी व्यक्तिको अवस्था यकिन हुन नसक्दा परिवारजनले उद्धार तथा खोजीका लागि प्रशासनमार्फत सम्बन्धित निकायमा निरन्तर आग्रह गरिरहेका छन्।

