दुई दशक प्रचण्डको पार्टीमा बिताएका प्रभाकर गुप्ता रास्वपामा, नेकपाभित्र परिवारवाद र अवसरवाद हाबी भएको आरोप

वीरगञ्ज– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको कम्युनिष्ट पार्टीमा दुई दशकभन्दा लामो समय बिताएका प्रभाकर गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। नेकपा मधेस प्रदेश कमिटी सदस्यसमेत रहेका गुप्ताले पार्टी परित्याग गर्दै रास्वपाको सदस्यता लिएका हुन्।

पर्साको वीरगन्ज महानगरपालिका–१०, घडिअर्वा निवासी गुप्ताले नेकपाभित्र परिवारवाद, अवसरवाद र गुटगत प्रवृत्ति हाबी भएको आरोप लगाएका छन्। इमानदार कार्यकर्ताको योगदानको उचित मूल्यांकन नभएको भन्दै उनले पार्टी छाड्ने निर्णय गरेको बताएका छन्।

२०६१ सालमा विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका गुप्ता लामो समयसम्म तत्कालीन माओवादी धारको राजनीतिमा सक्रिय थिए। विद्यार्थी संगठनदेखि पार्टीको जिल्ला तथा प्रदेश कमिटीसम्म विभिन्न जिम्मेवारी सम्हालेका उनी पछिल्लो समय नेकपाको मधेस प्रदेश कमिटी सदस्य थिए।
गुप्ताले २०६३ सालमा अखिल (क्रान्तिकारी) को नगर समिति सदस्यको जिम्मेवारी पाएका थिए। २०६४ सालमा जिल्ला समिति सचिवालय सदस्य बनेका उनी २०६६ सालमा ठाकुरराम बहुमुखी क्याम्पसको इकाई कमिटी अध्यक्ष भएका थिए। उनले २०६५ सालमा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सदस्य पदमा प्रतिस्पर्धासमेत गरेका थिए।

त्यसपछि उनको राजनीतिक सक्रियता पार्टी संगठनमा विस्तार भएको थियो। २०६७ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रको पर्सा जिल्ला सदस्यमा मनोनित भएका गुप्ता २०६९ सालमा अखिल (क्रान्तिकारी) को १८औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य बनेका थिए।

२०७३ सालमा अखिल (क्रान्तिकारी) को केन्द्रीय सचिवालय सदस्य बनेका उनले संगठनको केन्द्रीय सचिवको जिम्मेवारीसमेत सम्हालेका थिए। विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्रा विभिन्न संगठनात्मक जिम्मेवारी हुँदै पार्टीको प्रदेश कमिटीसम्म पुगेको थियो।

लामो समय आफू आबद्ध रहेको पार्टी छाड्नुको कारण खुलाउँदै गुप्ताले नेतृत्व र संगठनभित्र कार्यकर्ताको मूल्यांकन गर्ने पद्धतिमाथि प्रश्न उठाएका छन्। उनका अनुसार पार्टीमा परिवारवाद, अवसरवाद र गुटगत प्रभाव बढ्दै गएको छ। इमानदार भएर काम गर्ने कार्यकर्ताले उचित स्थान र जिम्मेवारी नपाएको उनको आरोप छ।

रास्वपा प्रवेशसँगै गुप्ताले आफ्नो राजनीतिक यात्रालाई नयाँ दलबाट अघि बढाउने निर्णय गरेका छन्। यद्यपि, उनको प्रवेशपछि वीरगन्ज तथा पर्साको स्थानीय राजनीतिमा कस्तो प्रभाव पर्छ भन्ने विषय आगामी राजनीतिक गतिविधिले देखाउनेछ।

गुप्ताले नेकपाभित्रका कमजोरी भन्दै उठाएका विषय उनका व्यक्तिगत आरोप हुन्। यसबारे नेकपा नेतृत्वको प्रतिक्रिया तथा पार्टीभित्र कार्यकर्ताको मूल्यांकनसम्बन्धी अवस्थाबारे थप विवरण प्राप्त भएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट