कारागारमा गरेको भाकल पूरा गर्न रवि भारतमा, कैँची धामदेखि कामाख्यासम्म धार्मिक यात्रा
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीनदिने धार्मिक भ्रमणका लागि भारत पुगेका छन्। पत्नी निकितासहित शुक्रबार पश्चिमी सीमा गड्डाचौकी हुँदै भारत गएका लामिछानेले आफ्नो भ्रमणलाई राजनीतिक नभई व्यक्तिगत धार्मिक यात्राका रूपमा व्याख्या गरेका छन्।
काठमाडौँबाट विमानमा कैलालीको धनगढी ओर्लिएका लामिछानेले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै आफू कारागारमा रहँदा गरेको भाकल पूरा गर्न भारत जान लागेको बताएका थिए। परिवार आध्यात्मिक सोचको भएकाले पहिले नै जाने इच्छा र भाकल रहेको उनको भनाइ थियो।
‘पहिलादेखि जाने भाकल पनि थियो। मेरो परिवार पनि आध्यात्मिक भएकाले म कारागारमा हुँदा नै गरेको भाकल पूरा गरौँ भन्ने हो,’ लामिछानेले भनेका थिए। रास्वपाको नेतृत्वमा सरकार बनेपछि गत १८ जेठमा भारतको राजकीय भ्रमण गरेका लामिछाने पाँच महिनापछि फेरि भारत पुगेका हुन्। यसपटकको भ्रमणलाई उनले राजनीतिसँग नजोड्न आग्रह गरेका छन्। उनको भ्रमणका मुख्य गन्तव्य उत्तराखण्डको नैनीताल नजिक रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिर हुन्।
कैँची धाम भारतका चर्चित आध्यात्मिक स्थलमध्ये एक हो। उत्तराखण्डको पहाडी क्षेत्रमा रहेको यो आश्रम प्रसिद्ध सन्त नीम करोली बाबा अर्थात् महाराजजीसँग जोडिएको छ। प्रेम, सेवा, करुणा र भक्तिलाई जीवनको मूल मन्त्र मान्ने बाबाका अनुयायी भारतमा मात्रै नभई विश्वका विभिन्न देशमा छन्।
नीम करोली बाबाको वास्तविक नाम लक्ष्मण नारायण शर्मा थियो। उनी भगवान् हनुमानका अनन्य भक्तका रूपमा चिनिन्थे। उत्तराखण्डको नैनीताल नजिक रहेको कैँची धाम उनको आध्यात्मिक विरासतसँग जोडिएको प्रमुख तीर्थस्थल हो।
यस आश्रमको विकास सन् १९६० को दशकमा भएको थियो। नीम करोली बाबा र स्थानीय भक्तहरूको पहलमा यहाँ आश्रम तथा मन्दिर निर्माणको काम अघि बढेको थियो। सन् १९६४ मा यहाँ हनुमान मन्दिरको प्रतिष्ठापन गरिएको थियो। सन् १९७३ मा बाबाको निधन भएपछि पनि उनका अनुयायीहरूको आस्था कमजोर भएन। बरु उनको शिक्षा र आध्यात्मिक विरासतका कारण कैँची धामको प्रसिद्धि थप फैलिँदै गयो।
कैँची धामको नाम पनि यसको भौगोलिक बनावटसँग जोडिएको मानिन्छ। कुमाउँ पहाडी क्षेत्रमा सडकका दुईवटा तीखा घुम्ती कैंचीका दुई पाताजस्तै एकअर्कासँग काटिएको देखिने भएकाले यस ठाउँको नाम ‘कैँची’ रहन गएको बताइन्छ। पहाड, खोला र हरियालीबीच अवस्थित आश्रमलाई भक्तजनले धार्मिक आस्था र मानसिक शान्तिको गन्तव्यका रूपमा लिने गरेका छन्।
कैँची धाम भारतका श्रद्धालुका लागि मात्र सीमित छैन। आध्यात्मिक खोजीमा रहेका विदेशी पर्यटक र चर्चित प्रविधि उद्यमीहरूको भ्रमणका कारण पनि यो अन्तर्राष्ट्रिय चर्चामा आएको छ। एप्पलका सहसंस्थापक स्टिभ जब्स र फेसबुकका संस्थापक मार्क जुकरबर्गको नाम पनि यस स्थलसँग जोडिन्छ।
स्रोतका अनुसार जब्स सन् १९७४ मा भारत आएका बेला नीम करोली बाबालाई भेट्ने इच्छा राख्थे। तर उनी आश्रम पुग्नुअघि नै बाबाको निधन भइसकेको थियो। जब्सले पछि फेसबुकका संस्थापक जुकरबर्गलाई पनि कैँची धाम भ्रमण गर्न सुझाव दिएका थिए। सन् २००८ मा फेसबुकको सुरुवाती चरणमा कम्पनी चुनौतीपूर्ण अवस्थामा रहेका बेला जुकरबर्ग भारत आएका थिए। उनले सन् २०१५ मा अमेरिकी राष्ट्रपति भवनमा होइन, क्यालिफोर्नियास्थित फेसबुक मुख्यालयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संवादका क्रममा आफ्नो भारत भ्रमण र त्यसले कम्पनीको उद्देश्यप्रतिको विश्वास बलियो बनाउन खेलेको भूमिकाबारे बताएका थिए।
लामिछानेको धार्मिक भ्रमणको अर्को गन्तव्य आसामको गुवाहाटीस्थित कामाख्या मन्दिर हो। नीलाचल पहाडमा रहेको यो मन्दिर हिन्दू धर्मको शक्तिपूजा परम्परामा विशेष महत्व राख्छ। देवी कामाख्याप्रति समर्पित यो मन्दिर भारतका प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। तान्त्रिक तथा शाक्त परम्परासँग यसको ऐतिहासिक सम्बन्ध छ र यहाँ वर्षभरि ठूलो संख्यामा श्रद्धालु पुग्ने गर्छन्।
लामिछानेले आफ्नो भ्रमण व्यक्तिगत धार्मिक आस्था र कारागारमा रहँदा गरेको भाकलसँग सम्बन्धित रहेको बताएका छन्। उनले भ्रमणलाई राजनीतिक अर्थ नलगाउन आग्रह गरे पनि रास्वपा सभापति तथा सरकारको नेतृत्व गरिरहेको दलका प्रमुख नेताको भारत यात्रालाई राजनीतिक वृत्तले चासोका साथ हेरेको छ। यद्यपि, भ्रमणको उद्देश्यबारे सार्वजनिक रूपमा उनले दिएको व्याख्या धार्मिक यात्रा नै हो।

