ज्यान जोगाउन भागेकी श्रीमतीलाई खेदेर घाँटी रेटी हत्या, खुकरी नचाउँदै प्रहरी कार्यालय पुगे अभियुक्त

राजधानी– रुकुमपश्चिमको चौरजहारी नगरपालिका–३ टाटागाउँमा मंगलबार राति एक पुरुषले खुकुरी प्रहार गरी आफ्नी पत्नीको हत्या गरेका छन्।

३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले घरेलु विवादका क्रममा ३० वर्षीया पत्नी देविका बुढाथोकीमाथि खुकुरी प्रहार गरेका हुन्। घटना राति करिब १० बजेतिर भएको प्रहरीले जनाएको छ।

मंगलबार राति खाना खाएर सुत्ने तयारीमा रहेका उनीहरूबीच भनाभन सुरु भएको थियो। झगडा चर्किएर हानाहान भएपछि चन्द्रबहादुरले खुकुरी निकालेर देविकामाथि आक्रमण गरेका थिए। ज्यान जोगाउन घरबाट भागेकी देविकालाई उनले घरभन्दा करिब २५ मिटर टाढा खेतसम्म लखेटेर घाँटी रेटेका थिए।

प्रहरीका अनुसार देविकाको घाँटी र दुवै हात काटिएका थिए। घटना स्थलमै उनको मृत्यु भएको थियो। हत्या लगत्तै चन्द्रबहादुर रगतले लतपतिएको खुकुरी बोकेर करिब चार किलोमिटर दूरीमा रहेको इलाका प्रहरी कार्यालय चौरजहारी पुगेका थिए।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका डिएसपी प्रमेश विष्टका अनुसार चन्द्रबहादुरले प्रहरीसँगको कुराकानीमा भने –‘श्रीमती मारेर आएको हुँ।” त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो। बुढाथोकी दम्पतीबीच पहिले पनि झैझगडा हुने गरेको बुझिएको डीएसपी विष्टले बताए।

पछिल्लो झगडा र घटनाको ठोस कारण खुलिसकेको छैन। चन्द्रबहादुरलाई राति नै जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिम ल्याइएको प्रहरीले जनाएको छ। मृतक देविकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट