झापामा एउटा विद्यालयका विद्यार्थीको कुटपिटबाट अर्को विद्यालयका २ विद्यार्थीको मृत्यु

दमक– झापाको शिवसताक्षीमा केही दिनअघिको कुटपिटमा परेका संगमचोक निवासी १५ वर्षीय आदित्य तामाङको बुधबार दिउँसो बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको छ।

उनका साथी रोमन थापाको आइतबार नै उपचारका क्रममा निधन भएको थियो। पीडित परिवारका अुनसार कुटपिट भएको भोलिपल्ट उनले विद्यालयमा अनुहार सुन्निएको र ढाड दुखेको बताएका थिए। तर विद्यालय प्रशासनले स्वास्थ्य परीक्षण वा तत्काल उपचारमा ध्यान दिएन।

जानकारी अनुसार राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत आदित्यलाई ट्युसन पढेर घर फर्कँदै गर्दा ध्रुवतारा अंग्रेजी माध्यमिक विद्यालयका केही विद्यार्थीहरूले आदित्यलाई कुटपिट गरेका थिए। पहिलो पटक सामान्य धक्का–मुक्का गरेर छाडेका उनीहरूले केही बेरमै पुनः बोलाएर सामूहिक रुपमा हमला गरेका थिए।

आफुमाथि कुटपिट भएको विषय उनले आमा–बुवालाई भने बताएका थिएनन्। ढाड दुखिरहेको मात्र बताएका थिए। त्यसैले उपचारमा ढिलाइ भयो। शनिबार अस्पताल लाँदा उनको अवस्था जटिल भइसकेको थियो।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा ६ जना किशोरलाई नियन्त्रणमा लिएको छ। उनीहरूले प्रारम्भिक बयानमा कुटपिट स्वीकार गरेको बताइएको छ। रोमन पनि सोही ट्युसन सेन्टरमा आउने गर्थे। कुटपिटको भोलिपल्ट साथीहरूले दोषीमाथि बदला लिनुपर्ने बताएका थिए। तर आदित्यले ‘छोडिदेऊ, झगडा नगरौं’ भन्दै शान्त रहन आग्रह गरेका थिए।

दुवै मृतक परिवारले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट