काभ्रेमा मोटरसाइकल दुर्घटनाः महिलाको मृत्यु, श्रीमान् र ५ वर्षका छोरा घाइते

राजधानी — काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ स्थित बगुवामा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् र छोरा घाइते भएका छन्।
कुशादेवीबाट आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल बिहान करिब सवा १० बजे अनियन्त्रित भई सडकबाट तल खसेको थियो। दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेकी पनौती–५ का विजय थापा, उनकी श्रीमती ३२ वर्षीया सुजना खत्री र छोरा पाँच वर्षीय बिएन्स थापा गम्भीर घाइते भएका थिए।
उनीहरुलाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको थियो। सुजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मीनबहादुर घलेले जानकारी दिए।
विजयको देब्रे खुट्टाको गोलीगाँठोमा चोट लागेको छ भने बिएन्सको निधारमाथि टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। दुवै जनाको शिर मेमोरियल अस्पतालमै उपचार भइरहेको र उनीहरू बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जानकारी दिइएको छ।