मोरङमा भूमाफियाको चलखेलः खोप केन्द्रको जग्गा भारतीय महिलाको नाममा धनीपूर्जा

विराटनगर — मोरङको सुनवर्षी नगरपालिका–८ मा रहेको सरकारी खोप केन्द्र र खेलमैदानसमेत समेटिएको ऐलानी जमिन भूमाफियाले कब्जा गरी भारतीय महिलाको नाममा धनीपूर्जा बनाएर बेचबिखन गरेको तथ्य बाहिर आएको छ।
स्थानीयवासीका अनुसार आधारभूत विद्यालय पछाडिको ७ कठ्ठा बढी जमिनमा रहेको खोप केन्द्र र सामुदायिक खेलमैदान वर्षौँदेखि सार्वजनिक उपयोगमा ल्याइँदै आएको थियो। तर, क्रमशः त्यहाँ घर टहरा निर्माण सुरु भएपछि अनियमितताको पर्दाफाश भयो।
जमिन २०७१ सालमै भारतीय नागरिक पदमादेवी गन्गाईको नाममा दर्ता भएको पाइएको छ। पदमाको माइती सो क्षेत्रमा भए पनि उनी विवाह गरेर भारतको नागरिक बनेकी थिइन्। यद्यपि, उनलाई आधार बनाएर सो जग्गा रेखादेवी साहलगायत नौ जनाको नाममा बिक्री गरिएको छ।
वडाध्यक्ष अनवर मियाँले तत्कालीन जनप्रतिनिधि र मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा धनीपूर्जा किर्तेगरी तयार पारिएको दाबी गरे। ‘सरकारी खोप केन्द्रलाई निजी स्वामित्वमा पु¥याउने कार्य गैरकानुनी मात्र नभई ठूलो धन्दा हो,’ उनले भने।
मालपोत कार्यालय रंगेलीका प्रमुख सुनिल पौडेलले धनीपूर्जा तयार गर्दा कार्यालयका प्रमाणित फाँटवाला र प्रमुखको अनुमोदन नपाएको पाइएकाले किर्तेगरी धनीपूर्जा बनेको आशंका रहेको बताए। हाल सो जग्गा रोक्का गरी छानबिन भइरहेको र गलत पाइएको खण्डमा सम्पत्ति फिर्ता ल्याइने उनले स्पष्ट पारे।
हाल सो जमिन विभिन्न व्यक्तिको नाममा पुगेको छ, जसमा घर टहरा र संरचनाहरू निर्माण भइरहेका छन्। जमिन किनेका व्यक्तिहरूले ‘खुन पसिनाको कमाई’ भन्दै क्षतिपूर्ति नदिइ फिर्ता लिन खोजिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।
तर, स्थानीयवासी भने यसलाई सार्वजनिक सम्पत्तिमाथिको ठूलो धाँधली भन्दै दोषीमाथि कडा कारबाहीको माग गरिरहेका छन्। ‘खोप केन्द्र र खेलमैदान कब्जा गरेर बेचबिखन गर्ने गिरोहलाई सजाय हुनुपर्छ,’ उनीहरू भन्छन्।
सुनवर्षी नगरपालिकाले घटनालाई गम्भीर रुपमा लिएको जनाएको छ। नगर प्रमुख श्यामप्रसाद राजवंशीका अनुसार नगरपालिका, वडा कार्यालय र मालपोत कार्यालय मिलेर सम्पत्ति फिर्ता ल्याउने र संलग्नमाथि कानुनी कारबाही गर्ने तयारी भइरहेको छ।
‘सार्वजनिक खोप केन्द्रको जमिन भारतीय नागरिकको नाममा दर्ता हुनु आफैँमा गम्भीर अपराध हो। हामी सबै सरोकारवालासँग मिलेर सम्पत्ति फिर्ता ल्याउनेछौँ,’ प्रमुख राजवंशीले भने।