रविसँगै नख्खुबाट भागेका सन्तबहादुरले पत्नीको हत्या गरेर शव बारीमा गाडे, अनि आफैं कारागार फर्किए

काठमाडौँ — जेन–जी आन्दोलनको क्रममा नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निस्किएपछि त्यही मौकामा फरार भएका सन्तबहादुर तामाङले आफ्नी पत्नी मनीषा तामाङको हत्या गरी शव घरको बारीमा गाडेको खुलेको र आफु भने कारागार फर्केको खुलेको छ।

पनौती नगरपालिका–१२, गागल निवासी ३७ वर्षीय सन्तबहादुर तीन वर्षअघि बलात्कारको दोषी ठहर भएर जेल सजाय भोगिरहेका थिए। तर, गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका उनले असोज ३ गते राति करिब १ बजे आफ्नी ३० वर्षीया पत्नी मनीषाको हत्या गरेका थिए।

पनौती–१२ का वडाध्यक्ष जयराम केसीका अनुसार, श्रीमान–श्रीमतीबीचको आन्तरिक रिसका कारण हत्या भएको आशंका गरिएको छ। मनीषाको शव घरबाट करिब १५० मिटर टाढा बारीमा गाडिएको अवस्थामा फेला परेको थियो। शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा पठाइएको छ।

सन्तबहादुर फरार भएपछि घर वरिपरि खोजतलास गर्दा मनीषाको चप्पल भेटिएको थियो। त्यसलाई आधार बनाएर बारी खनेर शव निकालिएको हो। सन्तबहादुरका ११ वर्षका छोरा र ३ वर्षकी छोरी छन्।

जेलबाट फरार भएका सन्तबहादुरको खोजी तत्कालै सुरु गरिएको थियो। सन्तबहादुरले केवल एक महिना बाँकी रहेको जेल सजाय भुक्तान गर्नु पर्ने अवस्थामा हत्या गरेपछि फरार भएका थिए। घरबाट भागेका उनी सिधै नक्खु कारागार फर्किएको खुलेको छ। श्रीमतीको हत्याको आरोपबाट जोगिन उनी कारागार फर्किएको प्रहरीको आशंका छ।

हत्या गरेकै दिन तामाङ नक्खु कारागार फर्किएको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए। उनी कारागार फर्किएको खुलेपछि काभ्रे प्रहरीको टोली समेत नक्खु पुगेको थियो। उनीमाथि अब कर्तव्य ज्यान मुद्दामा पनि अनुसन्धान गरिनेछ। तामाङका १२ वर्षीय एक छोरा र तीन वर्षीया छोरी छन्।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका थिए। उनलाई नख्खुबाट निकाल्न हुलहुज्जतसहित उपसभापति डीपी अर्याल, प्रवक्ता मनिष झा, सांसदहरू गणेश पराजुली र हरि ढकालसमेत पुगेका थिए । जेन–जीका नाममा रास्वपा नेताहरूले हुलहुज्जत गर्न थालेपछि रवि जेल तोडेर निस्किएका थिए। देशभरका जेलमा करिब १५ हजार कैदी फरार भएका थिए, जसमा अहिले पनि करिब साढे ७ हजार कैदी बाहिरै छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट