आफुलाई ‘आधा नेपाली’ भन्ने टीओबी नेता तेन्जिन दावाको जन्मदर्ता शंकास्पदः ‘श्री ५ को सरकार’ र नेपाल सरकारको छाप, शनिबार दर्ता

काठमाडौँ — जेन–जी आन्दोलन भड्काउन भूमिका खेलेको आरोप लागेका टीओबी (टिब्बटेन ओरिजिनल ब्लड) समूहका नेता तेन्जिन दावा लामाको जन्मदर्ता शंकास्पद देखिएको छ। आफुलाई आधा नेपाली बताउने उनको जन्मदर्तामा ‘श्री ५ को सरकार’ र नेपाल सरकार दुवैको छाप देखिनु र शनिबार दर्ता भएको तथ्यले वैधतामा प्रश्न उठाएको छ।

उनका नागरिकता कागजात र अन्य प्रमाणपत्रको प्रहरीले परीक्षण गरिरहेको छ। जन्मदर्ता अनुसार उनी २०५३ साल माघ २१ गते काठमाडौं–६ बौद्धमा जन्मेका हुन् र उक्त जन्मदर्ता २०६३ चैत १२ गते दर्ता भएको देखिन्छ। तर उक्त मिति शनिबार परेको कारण सरकारी कार्यालयहरू बन्द हुने दिनमा दर्ता गरिएकोले शंका उत्पन्न भएको छ।

जन्मदर्तामा उनका बुबाको नाम कृष्णबहादुर लामा र आमाको नाम माया लामा उल्लेख भए पनि ठेगाना दिइएको छैन। एउटै प्रमाणपत्रमा नेपाल सरकार र ‘श्री ५ को सरकार’ दुवैको छाप देखिनुले कागजातको वास्तविकतामा प्रश्न उठाएको छ।

प्रहरी प्रवक्ता पवन भट्टराईका अनुसार जन्मदर्ता, नागरिकता र अन्य कागजात स्थानीय वडामा पठाइएर परीक्षण भइरहेको छ। नतिजा आएपछि मात्रै थप जानकारी सार्वजनिक गरिनेछ।

तेन्जिन दावा लामा हालै सार्वजनिक भएको हतियार बोकेको फोटो–भिडियोका कारण प्रहरी हिरासतमा छन्। उनलाई २६ असोजमा पक्राउ गरिएको हो। उनी टिओबी समूहको लिडर हुन् र जेनजी आन्दोलनका क्रममा ‘टीओबी’ लेखिएको ज्याकेट लगाएर विभिन्न सरकारी संरचनामा तोडफोडमा संलग्न भएको आरोप छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार, बिजुली बजारको पुलमा हतियार बोकेको भिडियो सार्वजनिक भएपछि लामालाई नियन्त्रणमा लिइएको हो। उनका कोठाबाट बरामद कागजात र हतियार परीक्षणका लागि पठाइएको छ। अनुसन्धानमा लामाको पारिवारिक पृष्ठभूमि अस्पष्ट रहेको र उनी नेपालमा बस्दै फ्रि तिब्बत अभियान तथा चिन विरोधी गतिविधिमा सक्रिय हुनसक्ने अनुमान गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, लामाको नेतृत्वमा रहेको टीओबी समूह २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा सक्रिय रहेको देखिएको छ। २३ भदौमा बिजुली बजारस्थित आर्कब्रिजबाट रोयल इन्फिल्ड बाइकमा करिब १२ः३० बजे आन्दोलनमा सहभागी भएको र अनामनगरतर्फबाट नयाँ बानेश्वरतर्फ अघि बढेको देखिन्छ। उनीहरूले ‘टीओबी’ अंकित हाफ ज्याकेट र हाफ टिसर्ट लगाएर आन्दोलन भड्काउने भूमिका खेलेका थिए।

प्रहरीका अनुसार, २३ भदौको प्रदर्शनमा करिब १५० युवा सहभागी थिए। उक्त तथ्यलाई टिओबी समूहका सल्लाहकार सुरेन्द्र गुरुङ ‘हा किङ’ ले पनि स्वीकारेका थिए। तर उनले पछि फेसबुक पोस्ट हटाएका छन् र टिओबीको नामको अर्थ टिब्बटेन ओरिजिनल ब्लड नभई ‘द ओरिजिनल ब्रदर्स’ भएको दावी गरेका छन्।

जेनजी आन्दोलनमा टीओबी समूहले रेडियो सेट प्रयोग गरी बाइकमा रहेका सहभागीहरूलाई निर्देशन दिन्थे, जसले आन्दोलनको समन्वयमा भूमिका खेलेको देखिएको छ। तेन्जिन दावा लामाले युट्युब अन्तर्वार्तामा आफू आधा नेपाली भएको बताएका छन्। आन्दोलनका क्रममा उनले ‘मलाई मेरो देश फिर्ता चाहियो’ भन्ने नारा लगाएको भीडीओ सार्वजनिक भएको छ।

तर, उनले अन्तरवार्ताका क्रममा भनेका छन् कुनै कानूनी प्रमाण पाएमा आफू र समूह कानुनअनुसार सजाय भोग्न तयार छ। तर प्रहरीले अनुसन्धानमा २४ भदौको प्रदर्शनमा पनि उनीहरू सहभागी भएको पत्ता लगाएको छ।

प्रहरीले आन्दोलनमा सहभागी सबै ठाउँका सीसीटीभी फुटेज संकलन गरेको छ। नागरिकस्तरबाट प्राप्त ३६ हजारभन्दा बढी फोटो–भिडियोको विश्लेषण गरेर आन्दोलनमा टिओबी समूहको गतिविधि र युवा सहभागीको मुभमेन्ट अध्ययन भइरहेको छ। २४ भदौको प्रदर्शनमा बौद्ध, गौशाला, नयाँ बानेश्वर लगायत क्षेत्रमा उनीहरू सहभागी देखिएका छन्। यद्यपि आगजनी, तोडफोड र लुटपाटको ठोस प्रमाण प्रहरीले फेला पार्न सकेको छैन।

आन्दोलनको समयमा उनीहरूको लोकेसन, टेलिफोन संवाद, एसएमएस, सामाजिक सञ्जाल अन्तरक्रिया लगायत सबै गतिविधि प्रहरीले ट्रयाक गरिरहेको छ। यसक्रममा उनीहरू र हामी नेपाल संस्थाका सञ्चालक सुदन गुरुङबीचको प्रत्यक्ष प्रमाण भने हालसम्म फेला परेको छैन। प्रहरी अनुसन्धान जारी राख्दै वास्तविकता पुष्टि गरेपछि मात्रै थप कानुनी कारबाही गरिने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट