न्यूरोडस्थित प्रहरी वृत्तमा आगजनी गर्ने भारतीय नागरिकः आगजनी र तोडफोडमा संलग्न २ भारतीयसहित ४ जना पुर्पक्षमा

काठमाडौँ — भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा राजधानीमा भएका तोडफोड, आगजनी र प्रहरीमाथिका आक्रमणका घटनामा संलग्न चार जना पुर्पक्षका लागि जेल चलान भएका छन्। पक्राउ परेकामध्ये दुई जना भारतीय नागरिक र दुई जना नेपाली युवालाई जिल्ला अदालत, काठमाडौंले थुनामा पठाउने आदेश दिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार जेनजी आन्दोलनका क्रममा न्यूरोडस्थित प्रहरी वृत्त र वरपरका सरकारी तथा निजी भवनमा तोडफोड र आगजनी गर्ने भारतीय नागरिक निरज पोदार र रोहित सरावगीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। उनीहरूलाई बिहीबार अदालतको आदेशपछि कारागार चलान गरिएको हो।

यसैगरी, प्रहरी हत्यामा संलग्न युवराज क्याप्छाकी र बुद्धिमान थिङ (सेनाम तामाङ) लाई अदालतले शुक्रबार पुर्पक्षका लागि थुनामा पठाएको छ। दुबैलाई सुन्धारास्थित केन्द्रीय कारागार, जगन्नाथदेवल चलान गरिएको छ।

काभ्रेको रोशी गाउँपालिका–९ राजबासका २८ वर्षीय क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ बतासेका २१ वर्षीय थिङले आन्दोलनको दोस्रो दिन २४ गते महाराजगञ्जमा दुई प्रहरीमाथि आक्रमण गरी हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। प्रहरी जवान उत्तम थापालाई महाराजगञ्ज प्रहरी बृत्तबाट लखेट्दै भाटभटेनी नजिकै कुटपिट गरिएको र त्यस क्रममा उनको मृत्यु भएको अभियोग दुवैले स्वीकार गरेका छन्।

प्रहरीले उनीहरुमाथि मुलुकी फौजदारी अपराध संहिता, दफा १७७ अनुसार ‘ज्यानसम्बन्धी कसुर’मा जन्मकैदको मागदाबी गर्दै अभियोग दर्ता गरेको छ।

जेनजी अगुवको दबाबमा ८२ जनालाई हाजिर जमानी
भदौ २३ र २४ का घटनामा संलग्न ८२ जना भने हाजिर जमानीमा बाहिर रहेका छन्। उनीहरूलाई बयान र प्रमाणका आधारमा आफन्तको जिम्मामा छाडिएको र अदालतले मागेमा प्रस्तुत गरिने प्रहरी स्रोतले जनाएको छ। ‘छोड्नुपर्ने परिस्थिति थियो, तर अदालतमा हाजिर गराउने जिम्मा हामीसँग नै छ,’ प्रहरी परिसरले भनेको छ।

तीमध्ये केहीले अञ्जानबस उपद्रवमा सहभागी भएको बताएका छन् भने अधिकांशले तोडफोड र लुटपाटमा संलग्नता स्वीकार गरेका छन्। यसैबीच, जेनजी आन्दोलनकै क्रममा उपद्रवमा संलग्न ठहरिएका १२ जना अझै प्रहरी हिरासतमा छन्। तिनमा अछामका उमेश शाही र बौद्धका तेञ्जिङ दावा (टिओबी ज्याकेटसहित) पनि छन्। उनीहरू गम्भीर आपराधिक अभियोगमा अनुसन्धानमै रहेका छन्।

प्रहरी स्रोतका अनुसार, यी १२ जनालाई कुनै पनि राजनीतिक दबाबका कारण नछाडिने र अदालतको आदेशअनुसार मात्र अघि बढाइने तयारी छ। जेनजी आन्दोलनका नाममा भएको हिंसात्मक गतिविधिले अहिले पनि प्रहरी तथा प्रशासनिक निकायलाई सतर्क बनाइरहेको छ। आन्दोलनमा विदेशी संलग्नता र संगठित योजनाको आशंका प्रहरीले उठाउँदै विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट