जेनजी आन्दोलनमा हितेन्द्रदेव शाक्यको घरमा चोरी गर्ने भारतीय नागरिक पुर्पक्षका लागि जेल

काठमाडौँ— जेनजी आन्दोलनको समयमा विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा चोरी गरेको आरोपमा पक्राउ परेका भारतीय नागरिक सरोज आलमलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ। अन्य तीन जना भने धरौटीमा रिहा भएका छन्।

ललितपुर महानगरपालिका–११ ढटल मार्गस्थित शाक्यको घरमा चोरीको आरोपमा भारतको बेतिया जिल्लाका १८ वर्षीय सरोज आलम पक्राउ परेका थिए। उनलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीका अनुसार अदालतको आदेशपछि आलमलाई कारागार चलान गरिएको हो। सोही प्रकरणमा पक्राउ परेका अन्य तीन जना नेपाली नागरिकहरूलाई भने धरौटीमा छाड्ने आदेश भएको छ।

पक्राउ परेका मध्ये काभ्रेको रोशी गाउँपालिका–१ का २५ वर्षीय फुर्साङ लामा, बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ का २२ वर्षीय सहजाद मिया मंसुरी र रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–१ का २८ वर्षीय मनिष सुनार रिहा भएका हुन। अदालतले लामालाई ६० हजार रुपैयाँ धरौटीमा र बाँकी दुई जनालाई जनही ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शाक्यको घरको ग्राउन्ड फ्लोरमा सञ्चालनमा रहेको ‘रेष्टलस’ नामको एनजीओबाट केही अमेरिकी डलर, हितेन्द्रदेव शाक्यका दीर्घ सेवा पदक, अवकाश पदक, उनका पिताले प्राप्त गरेको शुभराज्य रोहण पदक, मोबाइल, सुनचाँदीका सिक्का, गहना तथा अन्य सरसामान चोरी भएको थियो।

उक्त चोरीमा करिब १६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। प्रहरीले थप अनुसन्धान जारी रहेको बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट