‘सिंहदरबार जलाएको’ आरोपबाट ध्यान हटाउन वालेनले लेखे कविताः सबै दोष नेतामाथि थोपर्ने प्रयास

काठमाडौँ— काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहमाथि जेनजी आन्दोलनको आडमा देशको प्रमुख प्रशासकीय अड्डा सिंहदरबार जलाएको गम्भीर आरोप लागेको छ। उनले २ वर्षअघि फेसबुकमा स्ट्याटस लेखेरै सिंहदरबार जलाउने धम्की दिएका थिए।
यो प्रकरणलाई वुझन २ वर्षअघिको एउटा प्रसंग सम्झनु पर्छ। २०८० भदौ १६ गते शनिवार राति ८ः ४९ बजे साहकी पत्नी सविना काफ्ले चढेको सरकारी नम्बर प्लेटको कार ललितपुरको बालकुमारी क्षेत्रबाट कोटेश्वरमा पुगेको थियो। त्यहाँ ट्राफिक चेकिङ पनि चलिरहेको थियो भने सवारी साधनहरू लाइनमा रहेका कारण उक्त गाडी केही पछाडि थियो। जब उक्त गाडी ट्राफिक चेकिङ भइरहेको स्थानमा पुग्यो, त्यसपछि ट्राफिक प्रहरीले सेतो नम्बर प्लेट देखेपछि गाडीलाई रोकेर कागजात र शनिबार चलाउनका लागि स्थानीय प्रशासनबाट लिइएको पास मागे।
तर चालकले शनिबार उक्त सवारीसाधन चलाए पनि पास नबनाएको र उक्त गाडी काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको भएको बताए। तर गाडीमा बालेन्द्र साह नदेखेपछि ट्राफिक प्रहरीले उहाँ को हो भनी प्रश्न गरेपछि चालकले उहाँ बालेनकी पत्नी भएको र अस्पतालबाट फर्किँदै गरेको जवाफ दिएका थिए। त्यसलगत्तै ट्राफिक प्रहरीले चालकलाई सम्झाएर अब शनिबार सरकारी सवारीसाधन नचलाउन र चलाउन परे अनिवार्य रुपमा पास लिएर मात्रै चलाउनका लागि सुझाव दिँदै सवारीसाधनलाई छाडिदियो।
उक्त सवारीसाधन शनिबार साँझ ८ बजेर ५१ मिनेट २ सेकेण्ड जाँदा त्यहाँबाट गएको देखिन्छ। मेयर निर्वाचित भएपछि आफुलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा पनि माथिल्लो तहको नेताका रुपमा सोअफ गर्दै आएका उनले त्यो घट्नालाई ‘संघीय सरकारद्वारा आफनो मान मर्दन गरेको’ रुपमा लिए। र, फेसबुकमा स्ट्याटस लेख्दै सिंहदरबार जलाउने धम्की दिएका थिए।
उनले लेखेका थिए–‘आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’ चौतर्फी आलोचना भएपछि उनले सुटुक्क स्ट्याटस हटाए। तर, त्यस विषयमा नत कुनै प्रतिक्रिया जनाए, नत माफी मागे।
यसैक्रममा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सिंहदरबारदेखि राज्यका महत्वपूर्ण संरचना जलाईयो। यो आन्दोलनको तयारीदेखि आन्दोलनलाई उदण्ड र हिंसात्मक बनाउनेसम्मका भूमिकामा बालेन्द्र साहनै अगुवा देखिए। यि सवै प्रकरणले उनीमाथि लागेको ‘सिंहदरबार जलाएको’ आरोप लगभग प्रमाणित हुनेजस्तो देखिएको छ।
सिंहदरबार जलिरहँदा महानगरपालिकाको दमकल आगो निभाउन नजानु अर्को गम्भीर विषय बनेको छ। यो ढिलाइलाई धेरैले योजनाबद्ध अपराधको संकेतका रूपमा व्याख्या गरेका छन्। एकपछि अर्को विवादमा नाम जोडिँदै गएपछि अहिले मेयर साह सिंहदरबार आगजनीको आरोपहरूको घेराबन्दीमा छन्। धेरैको धारणा छ— यदि उनी मेयर नभई सामान्य नागरिकको हैसियतमा हुन्थे भने, यी प्रकरणहरू मात्र उनको गिरफ्तारी र कानुनी कारबाहीका लागि पर्याप्त प्रमाण ठहरिन्थे।
तर, साहमाथि लागेको आरोप यतिमै सीमित छैन। उनीमाथि विदेशी एजेण्ट भएर राज्यविरुद्ध जासुसी गरेको अर्को गम्भीर अभियोग पनि छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले मेयर साह र ‘हामी नेपाल’ नामक संस्थाका अध्यक्ष सुधन गुरूङविरुद्ध राज्यविरुद्ध जासुसी गरेको आरोपसहित प्रहरीमा उजुरी दिएको छ।
लेखक तथा विश्लेषक सौरभले त बालेन्द्रलाई ‘लुसिफर’ को उपमा दिएका छन्। कालो कपडा, कालो चस्मा, सधैं अन्धकारमा रहने (जनता र मिडिया फेस नगर्ने) लगायतका प्रसंगहरु जोडेर उनले बालेन्द्रलाई सामान्य नागरिक नभई देश ध्वस्त पार्ने पात्रका रुपमा ब्याख्या गरेका छन्।
यद्यपि, बालेन्द्रले भने आफूमाथि लागेका सबै आरोपको खण्डन गर्दै आएका छन्। उनका अनुसार, देशमा भएका सबै समस्या राजनीतिक दल र तिनका नेताहरूका कारण भएका हुन्। मेयरमा निर्वाचित भएदेखि नै उनी राजनीतिक दल र नेताप्रति अनुदार देखिँदै आएका छन्, विशेषगरी नेकपा (एमाले) र अध्यक्ष केपी शर्मा ओली उनको स्थायी निशानामा छन्। यसैक्रममा बुधबार उनले फेसबुकमा अर्को स्ट्याटस लेख्दै आफूमाथि लागेको आरोपलाई अरूमाथि मोड्ने प्रयास गरेका छन्। उनले लेखेका छन्—
तुइन र काठको पूल बनाउने नेताहरु भन्छन,
यो देश विदेशीले बिगार्यो,
भिसा पाउनलाई तिमीहरुको घर धाउनु पर्छ,
अरुलाई एजेन्ट भन्छौ!
आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउँछ,
कांग्रेसले एमालेको जलाउछ, दोश आफ्नो बाल बच्चालाई दिन्छौ!
चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ!
लाज लाग्दैन?
यो कविताजस्तो देखिने स्ट्याटसले राजनीतिक वृत्तमा झन् हलचल मच्चाएको छ। उनका आलोचकहरू भन्छन— यो आत्मसमीक्षा होइन, आरोपबाट ध्यान हटाउने रणनीति हो। नेताहरूलाई दोष लगाउँदै उनले आफ्ना कदमको जवाफ टारेका छन्।
विश्लेषकहरूको मूल्याङ्कनमा—‘सिंहदरबारको धुवाँ र मेयरको कवितात्मक स्ट्याटस दुवैले राजधानीमा गन्ध फैलाइरहेका छन— एउटाले खरानीको, र अर्कोले नेतामाथि थुपारिएको अपराधमा आफ्नै गैरजिम्मेवारीको।’