पति–पत्नीको सम्बन्ध सुधार्न झारफुकका लागि पुगेकी महिला तान्त्रिकसँगै फरार
इन्दौर — मध्य प्रदेशको आर्थिक राजधानी मानिने इन्दौरमा भएको एउटा घटनाले घरेलु तनाव, अन्धविश्वास र तान्त्रिक जालोबीचको खतरनाक सम्बन्धलाई एकैपटक सतहमा ल्याइदिएको छ। पतिसँगको सम्बन्ध सुधार्ने आशामा ‘जोखाना’ र ‘पूजा–पाठ’ गराउन पुगेकी एक विवाहित महिला अन्ततः तान्त्रिककै फरार भइन्।
घर सुधार्न खोज्दा घरै छाडेर भागेको यो घटनाले समाजमा बढ्दो तान्त्रिक प्रभाव र भावनात्मक शोषणको कुरूप चित्र उजागर गरेको छ। घटना बाणगंगा थाना क्षेत्रकी एक महिलासँग जोडिएको हो। परिवारिक स्रोतका अनुसार उनको वैवाहिक सम्बन्ध लामो समयदेखि तनावपूर्ण थियो। श्रीमानसँग झगडा, असमझदारी र घरेलु कलहले दिक्क बनेकी उनी समाधानको खोजीमा राकेश जाटव नामक तान्त्रिककहाँ पुगेकी थिइन्।
समस्या समाधान, ग्रहदोष शान्ति र दाम्पत्य जीवन सुधार्ने आश्वासन दिएपछि पूजा–पाठ र तान्त्रिक क्रियाकलापको बहानामा उनीहरूबीच नियमित भेटघाट सुरु भयो। त्यही भेटघाट क्रमशः ‘निकटता’ मा बदलिँदै गयो। ती महिला तान्त्रिकसँग भावनात्मक रूपमा गाँसिँदै गएकी थिइन्। केही दिनमै अवस्था यस्तो आयो कि उनले आफ्नै घर, पति र परिवार छाडेर तान्त्रिकसँगै बस्ने निर्णय गरिन्।
घरबाट अचानक बेपत्ता हुँदा उनीसँग घरमा रहेको सुनचाँदीका गरगहना र नगदसमेत गायब भएको परिवारको दाबी छ। महिला सम्पर्कविहीन भएपछि परिवारमा हलचल मच्चियो। चोरी र अपहरणको शंका गर्दै उनीहरूले प्रहरीमा उजुरी दर्ता गरे। त्यसपछि इन्दौर प्रहरीले गम्भीर रूपमा अनुसन्धान अघि बढायो।
एसीपी रुबिना मिजबानीका अनुसार सुरुमा महिलाका पति र परिवारका अन्य सदस्यको बयान लिइयो। बयानहरूमा असंगति देखिएपछि प्रहरीले प्राविधिक अनुसन्धान सुरु ग¥यो र मोबाइल लोकेसन ट्रेस गरियो।
प्राविधिक प्रमाणले महिलाको अन्तिम लोकेसन भोपाल देखाएपछि प्रहरी टोली तत्काल भोपाल पुग्यो। खोजीका क्रममा ती महिला र तान्त्रिक दुवैलाई सँगै फेला पारेर नियन्त्रणमा लिइयो। महिलालाई सुरक्षित रूपमा इन्दौर फर्काइएको छ भने उनीसँग रहेका केही गरगहना पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
सोधपुछका क्रममा बाहिर आएको बयानले घटनालाई अझ जटिल बनाएको छ। महिलाले आफू लामो समयदेखि श्रीमानबाट घरेलु हिंसा र मानसिक तनाव झेल्दै आएको दाबी गरेकी छन्। त्यही पीडाबाट मुक्तिको खोजीमा तान्त्रिकसँग चिनजान भएको र ‘समस्या समाधान गरिदिने’ आश्वासनपछि सम्बन्ध नजिकिँदै गएको उनले प्रहरीसमक्ष बताएकी छन्।
अन्ततः पीडा दिने श्रीमान भन्दा तान्त्रिकसँग बस्नु नै सहज ठानेर आफू स्वेच्छाले गएको उनको भनाइ छ। तर प्रहरी स्रोतका अनुसार राकेश जाटव तान्त्रिक अभ्यासको नाममा मानिसहरूलाई प्रभावमा पार्ने, मनोवैज्ञानिक रूपमा नियन्त्रण गर्ने र प्रलोभन दिने व्यक्ति भएको प्रारम्भिक सूचना प्राप्त भएको छ।
यसकारण महिलालाई बहकाएर वा मानसिक रूपमा प्रभावित बनाएर लगिएको हो कि होइन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ। अन्धविश्वास र ‘तान्त्रिक उपचार’ का नाममा भइरहेको सम्भावित शोषणलाई प्रहरीले छुट्टै कोणबाट हेरिरहेको छ।
इन्दौर प्रहरीका अनुसार घटनाबारे विभिन्न कोणबाट अनुसन्धान जारी छ। महिलाको बयान, बरामद गरगहना र नगद, तान्त्रिकको गतिविधि तथा सम्भावित आपराधिक पक्षबारे विस्तृत छानबिन भइरहेको छ। अनुसन्धान सकिएपछि आवश्यक कानुनी कारबाही अघि बढाइने जनाइएको छ।
