नीट प्रश्नपत्र लिक काण्डमै मोदीले बनाए विश्व रेकर्ड, २४ घण्टामै ३० करोडभन्दा बढी पटक हेरियो रिल

राजविराज– भारतमा मेडिकल प्रवेश परीक्षा (नीट) को प्रश्नपत्र चुहावटले सरकारमाथि अभूतपूर्व राजनीतिक दबाब सिर्जना गरिरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले इन्स्टाग्राममार्फत सार्वजनिक गरेको एउटा भिडियोले विश्वव्यापी डिजिटल कीर्तिमान कायम गरेको छ।

प्रश्नपत्र चुहावट प्रकरणमा सरकारले चालेका कदमबारे जानकारी दिन सार्वजनिक गरिएको उक्त भिडियो २४ घण्टाभित्रै ३० करोडभन्दा बढी पटक हेरिएपछि इन्स्टाग्राम इतिहासकै सबैभन्दा धेरै हेरिएको रिल बनेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

शनिबार दिउँसोसम्म उक्त भिडियोको भ्यु संख्या ३४ करोड नाघिसकेको छ। यसअघि सबैभन्दा धेरै हेरिएको रिलको कीर्तिमान युट्युबर आईशोस्पिडको नाममा थियो। फिफा विश्वकपका क्रममा दक्षिण कोरियाली के–पप समूह बीटीएससँगको भेटसम्बन्धी उनको रिललाई करिब ३० करोड भ्यु प्राप्त भएको थियो।

भिडियो भाइरल भएसँगै मोदीको इन्स्टाग्राम खातामा एकै रात करिब १० लाख नयाँ फलोअर थपिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। अप्रत्याशित प्रतिक्रिया पाएपछि प्रधानमन्त्री मोदीले शनिबार नै अर्को भिडियो सार्वजनिक गर्दै दर्शक तथा समर्थकप्रति आभार व्यक्त गरेका छन्।

यो भिडियो भारतभर चर्किएको नीट प्रश्नपत्र चुहावट विवादको पृष्ठभूमिमा आएको हो। मेडिकल शिक्षामा प्रवेशका लागि सञ्चालन हुने राष्ट्रिय पात्रता तथा प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट भएको आरोपपछि देशभर विद्यार्थी आन्दोलन भइरहेको छ। शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै नयाँ दिल्लीको जन्तरमन्तरमा गत सोमबारदेखि हजारौँ विद्यार्थी प्रदर्शनमा उत्रिएका छन्। आन्दोलन विस्तारै अन्य राज्यहरूमा समेत फैलिँदै गएको छ भने विभिन्न कलाकार तथा सार्वजनिक व्यक्तित्वहरूले पनि विद्यार्थीहरूको आन्दोलनलाई समर्थन जनाइरहेका छन्।

बढ्दो जनदबाबबीच प्रधानमन्त्री मोदीले सार्वजनिक गरेको भिडियोमा प्रश्नपत्र चुहावटलाई ‘लाखौँ विद्यार्थी र उनीहरूका अभिभावकका लागि अत्यन्त पीडादायी घटना’ भन्दै सरकारले यसलाई सामान्य विषयका रूपमा नलिएको बताएका छन्।

मोदीका अनुसार घटनापछि पछिल्लो करिब साढे दुई महिनामा अनुसन्धान तीव्र बनाइएको, संलग्न व्यक्तिहरूलाई पक्राउ गरी जेल पठाइएको तथा विद्यार्थीहरूको शैक्षिक वर्ष नष्ट हुन नदिन अत्यन्त कम समयमा २२ लाखभन्दा बढी परीक्षार्थीका लागि पुनः परीक्षा सञ्चालन गरिएको थियो। उनले केही दिनअघि मात्रै परीक्षा परिणाम सार्वजनिक भएको उल्लेख गर्दै देशभरका सफल विद्यार्थीबाट सकारात्मक प्रतिक्रिया आउन थालेको बताएका छन्।

तर सरकारले यतिमै सन्तुष्ट नभएको स्पष्ट गर्दै उनले प्रश्नपत्र चुहावटजस्ता अपराधलाई छिटो टुंग्याउन फास्ट ट्रयाक अदालत गठन गर्ने निर्णय गरिएको जानकारी दिएका छन्। सम्बन्धित विभागले कानुनी मस्यौदा तयार गरिसकेको र त्यसमा दोषीलाई कडा सजायको व्यवस्था गरिएको उनले बताएका छन्।

मोदीका अनुसार उक्त मस्यौदामाथि मन्त्रिपरिषद्मा छलफल गरी अन्तिम रूप दिइनेछ। त्यसपछि संसद् सुरु हुनेबित्तिकै सम्बन्धित विधेयक पारित गराउने प्रयास गरिनेछ, ताकि भविष्यमा यस्ता घटनामाथि कडा कानुनी नियन्त्रण स्थापित गर्न सकियोस्।

यद्यपि सरकारको यो सन्देशले सामाजिक सञ्जालमा ऐतिहासिक लोकप्रियता हासिल गरे पनि विपक्षी दल र आन्दोलनरत विद्यार्थीहरूले भने प्रश्नपत्र चुहावट प्रकरणमा सरकारको जवाफदेहिता मागेका छन्। यही क्रममा उनीहरूको मुख्य माग मध्ये शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आईसकेको छ भने निष्पक्ष अनुसन्धान र सम्पूर्ण दोषीमाथि कठोर कानुनी कारबाही गर्नु पर्ने माग बाँकी छ।

डिजिटल प्लेटफर्ममा विश्व कीर्तिमान कायम गरेको मोदीको भिडियो अहिले केवल सामाजिक सञ्जालको उपलब्धि मात्र नभई भारतमा शिक्षा, परीक्षा प्रणाली, राजनीतिक उत्तरदायित्व र डिजिटल सञ्चारको प्रभावबारे नयाँ बहसको केन्द्र बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट