अमेरिकामा खुँडा प्रहार गरी श्रीमती र छोरीको हत्या गर्ने नेपाली उदयपुरका, प्रहरी कारबाहीमा आरोपी पनि मारिए
उदयपुर— अमेरिकाको भर्जिनिया राज्यको पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा श्रीमती र छोरीको हत्या गर्ने नेपाली उदयपुरका ५० वर्षीय छत्रबहादुर थापा रहेको खुलेको छ। उनले खुँडा प्रहार गरी ५१ वर्षीय श्रीमती बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेका हुन।
प्रहरीको कारवाहीमा थापाको पनि घटनास्थलमै मृत्यु भएको छ। स्थानीय समयअनुसार सोमबार बिहान करिब सवा ५ बजे प्रहरी टोलीलाई घरेलु हिंसाको सूचना प्राप्त भएको थियो। घटनामा छत्रबहादुरले करिब १० इन्च लामो धारिलो खुँडा प्रयोग गरेका थिए।
घटनाको समयमा ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार बस्नेत घरबाहिर कारबाट हिउँ पन्साइरहेका थिए। घरभित्र असामान्य कोलाहल सुनेर उनले ९११ मा फोन गरी प्रहरीलाई जानकारी दिए। त्यसपछि हतारिँदै घरभित्र प्रवेश गर्दा बस्नेतले आफ्नी श्रीमती र सासूलाई रक्ताम्मे अवस्थामा फेला पारे। सोही क्रममा छत्रबहादुरले बस्नेतमाथि पनि खुँडा प्रहार गरेका थिए, जसका कारण उनी गम्भीर घाइते भएका छन्।
उनको उपचार अहिले चलिरहेको छ। यसबीच घरभित्र रहेका सन्तोषका एक वर्षीय छोरा भने सुरक्षित रहेका छन् र बालसुरक्षा केन्द्रमा राखिएको छ। प्रहरी घटनास्थलमा पुग्दा छत्रबहादुर लगातार बस्नेतमाथि आक्रमण गरिरहेका थिए। पटक–पटक हतियार फाल्न आदेश दिइए पनि उनले अटेर गरेपछि प्रहरीले गोली चलाएको थियो।
फेयरफ्याक्स प्रहरी प्रमुख केभिन डेभिसले घटनास्थललाई ‘कल्पनाबाहिरको भयावह र स्तब्ध पार्ने’ रूपमा वर्णन गरेका छन्। प्रारम्भिक अनुसन्धानले परिवारसँग सम्बन्धित कुनै आपराधिक इतिहास वा प्रहरीमा उजुरी नपाएको देखाएको छ। प्रहरीले घटनास्थलबाट बरामद खुँडा र अन्य प्रमाणको परीक्षण गर्दै पारिवारिक विवाद, मानसिक अवस्था र सम्भावित तनावका कारणहरूबारे गहिरो अनुसन्धान गरिरहेको छ।
सुरुवाती विवरण अनुसार छत्रबहादुर बेलका नगरपालिका, रामपुरका मूल निवासी हुन्। उनी गत वर्ष नोभेम्बर १२ मा ग्रिनकार्ड (स्थायी बसोबास प्रमाणपत्र) प्राप्त गरेका थिए। उनको श्रीमती बिन्दा थापाले पनि सोही बेला ग्रिनकार्ड पाएकी थिइन्। उनिहरु छोरीकै घरमा वस्दै आएका थिए। प्रारम्भिक रिपोर्टअनुसार छत्रबहादुर केही समयदेखि मानसिक रोगसम्बन्धी औषधि सेवन गर्दै आएका थिए र मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट पीडित रहेको बुझिएको छ।
एकै परिवारका सदस्यहरू क्षणभरमै मृत्यु र गम्भीर घाइतेको अवस्थामा पुगेको यस घटनाले विदेशमा रहेका नेपाली समुदायमा सुरक्षा, मानसिक स्वास्थ्य र पारिवारिक तनावका विषयमा तीव्र बहस सुरु गरेको छ। यस घटनापूर्व अमेरिकामा नेपाली परिवारसँग सम्बन्धित यस्तै प्रकृतिका घटनाहरू भइसकेका छन्।
गत वर्ष अगस्टमा टेक्सस राज्यको डलस सहरमा एक नेपाली पुरुषले आफ्नै श्रीमती र छोरामाथि गोली प्रहार गरी हत्या गरेपछि आत्महत्या गरेका थिए। २०८१ भदौमा पनि नरेश भट्टले आफ्नी श्रीमती ममता काफ्लेको हत्या गरी शव लुकाएको घटना सार्वजनिक भएको थियो। अमेरिकी कानुन अनुसार कुनै पनि हतियारधारी व्यक्तिले प्रहरी वा सुरक्षाकर्मीले हतियार फाल्न वा भुइँमा राख्न बारम्बार आग्रह गर्दा पनि अटेर गरेमा वा आक्रमण गर्ने प्रयास गरेमा प्रहरीले जवाफी कारबाही गर्न पाउँछ।
लोकप्रिय
टिकटकर तुल्सी अधिकारी प्रकरणमा १६ करोड ट्रान्जेक्सनको विस्फोटः प्रहरीमाथि ‘प्रतिशोध’को आरोपले झन तातिँदै मुद्दा
झापा–५ मा बालेन्द्रको उम्मेदवारीले रास्वपामा विद्रोहः पुराना नेता–कार्यकर्ता पाखा, आयातित टोलीको भरमा चुनाव प्रचार
ताजा अपडेट
अमेरिकामा खुँडा प्रहार गरी श्रीमती र छोरीको हत्या गर्ने नेपाली उदयपुरका, प्रहरी कारबाहीमा आरोपी पनि मारिए
