मधेसमा सत्ता हल्लाउने आँधीः उपेन्द्र, सीके र राजेन्द्रलाई अस्तित्व जोगाउँनै सकस, तीनै जना खतरामा
राजविराज– मधेसको राजनीतिमा वर्षौँदेखि वर्चस्व जमाउँदै आएका प्रमुख मधेसकेन्द्रित दलहरू पहिलोपटक गम्भीर दबाबमा परेका छन्। अधिकार, पहिचान र स्वाभिमानको नारा बोकेर २०६४ पछि मधेसको राजनीतिक केन्द्रमा पुगेका ती दलहरू अहिले आफ्नो अस्तित्व जोगाउनकै लागि संघर्ष गर्दैछन्।
यसपटकको निर्वाचनले मधेसको राजनीतिक शक्ति सन्तुलन नै उल्टिन सक्ने सम्भावनाबारे नेताहरू स्वयं सतर्क देखिएका छन्, र यही सन्दर्भमा मधेसको राजनीति लामो समयदेखि नियन्त्रणमा राख्दै आएका तीन प्रमुख नेतृत्व उपेन्द्र यादव, सीके राउत र राजेन्द्र महतो यसपटक प्रत्यक्ष रूपमा दबाबमा परेको विश्लेषण भइरहेको छ।
नेताहरुका अनुसार मधेसको राजनीतिक भूगोलमा कहिल्यै नदेखिएको अस्थिरता अहिले देखिएको छ। एक समय आन्दोलनको बलमा मधेसमा अपार जनसमर्थन जुटाएका दलहरू अहिले विभाजन, आन्तरिक असन्तोष र नयाँ राजनीतिक शक्तिको उदयका कारण कमजोर बनेको चर्चा व्यापक छ।
मधेस आन्दोलनपछि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमले ५२ सिट जित्दै देशकै चौथो ठूलो राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गरेको थियो। त्यो समय मधेसकेन्द्रित दलहरू एकढिक्का, संगठित र प्रभावशाली थिए। तर समयसँगै व्यक्तिगत महत्वाकांक्षा, सत्ताको खिचातानी र नेतृत्वबीचको प्रतिस्पर्धाले ती दलहरूलाई टुक्र्यायो।
२०७० को दोस्रो संविधानसभा निर्वाचनसम्म आइपुग्दा मधेसवादी राजनीति नै विभिन्न समूह र दलमा विभाजित भइसकेको थियो। अहिलेको चुनावमा मधेसमा केन्द्रित भएर मैदानमा उत्रिएका दलहरूमा जसपा नेपाल, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी, आम जनता पार्टी, स्वाभिमान पार्टी र जनअधिकार पार्टी जस्ता समूहहरू सक्रिय छन्।
तर यी सबै दलहरूका लागि यो निर्वाचन सहज नहुने संकेत उनीहरूकै नेताहरूले गर्न थालेका छन्। आफ्नो विरासत जोगाउनै हम्मे पर्ने अवस्था आएको उनीहरूको स्वीकारोक्ति नै अहिले मधेस राजनीतिमा देखिएको असुरक्षाको सूचक मानिएको छ।
यसबीच मधेसको राजनीतिक समीकरणमा नयाँ मोड ल्याउने दुई शक्तिशाली कारक देखिएका छन—नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको चुनावी रणनीति।
थापाले काठमाडौँ–४ छोडेर सर्लाही–४ बाट उम्मेदवारी घोषणा गरेपछि मधेसमा कांग्रेसको पक्षमा छुट्टै माहौल बन्न थालेको विश्लेषण गरिएको छ। उता काठमाडौँ महानगरको मेयर पदबाट राजीनामा दिएर झापा–५ बाट उम्मेदवार बनेका साहले जनकपुरमा गरेको सम्बोधनपछि मधेसको राजनीतिक वातावरण एकाएक तरङ्गित भएको छ। जसले मधेसका परम्परागत दलहरूलाई थप असहज बनाएको छ।
मधेसका मतदाताको मनोविज्ञानमा परिवर्तन देखिन थालेको स्वीकार मधेसवादी दलकै नेताहरूले गरेका छन्। उनीहरूका अनुसार मधेसमा अहिले गगन थापा र बालेन्द्र साहको रणनीतिका कारण मतदाताहरु अस्थिर भएको संकेत देखिएको छ।
गगन थापाको उम्मेदवारीले कांग्रेसलाई पुनर्जीवन दिएको उनीहरूको बुझाइ छ। यही कारण मधेस आन्दोलनको रापबाट उदाएका दलहरू पहिलोपटक रक्षात्मक अवस्थामा पुगेको विश्लेषण गरिएको छ। मधेस राजनीतिको मियो मानिने उपेन्द्र यादव स्वयं यसपटक आफ्नो सिट जोगाउन गम्भीर रूपमा लागिपरेका छन्।
अघिल्लो चुनावमा सप्तरी क्षेत्र नम्बर २ बाट सीके राउतसँग पराजित भएपछि उनी यसपटक सप्तरी क्षेत्र नम्बर ३ मा सरेका छन्। यद्यपि, त्यहाँ पनि चुनौती कम नभएको उनका सहयोगीहरू स्वीकार्छन्। संगठन बलियो भए पनि चुनाव जित्न ठूलो मेहनत आवश्यक रहेको उनीहरूको भनाइ छ।
उता जनमत पार्टीका अध्यक्ष सीके राउतका लागि पनि यो चुनाव सहज देखिँदैन। अघिल्लो निर्वाचनमा मधेसमा नयाँ शक्ति बनेर उदाएका राउत अहिले आफ्नै पार्टीभित्रको असन्तोष र विद्रोहसँग जुधिरहेका छन्। पार्टीका पूर्वसहकर्मीहरूले नै उनलाई चुनौती दिएका छन्।
स्वाभिमान पार्टी गठन गरेका सतीशकुमार सिंह, जनअधिकार पार्टीका नेता डा. शरदसिंह यादव र राष्ट्रिय मुक्ति पार्टी नेपाललका पूर्वमेयर अनिस अन्सारीले सप्तरी–२ बाट राउतविरुद्ध उम्मेदवारी दिएका छन्। यसले जनमत पार्टीभित्रको दरार चुनावी मैदानमै देखिएको छ। यद्यपि, जनमत पार्टीका नेताहरूले विचारधाराको भोट आफ्नो पक्षमै रहने दाबी गर्दै आएका छन् र लोकप्रियताका आधारमा राजनीति गर्ने शक्तिहरूको प्रभाव सीमित रहने बताएका छन्।
यता राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो पनि सर्लाही–२ बाट चुनावी मैदानमा छन्। तर त्यहाँ उनको प्रतिस्पर्धा कडा हुने देखिएको छ। अघिल्लो चुनावमा सोही क्षेत्रबाट विजयी भएका नेपाली कम्युनिस्ट पार्टीका महिन्द्रराय यादव बलियो प्रतिस्पर्धीका रूपमा देखिएका छन्। मधेसमा देखिएको नयाँ राजनीतिक लहर मतमा परिणत भए धेरै पुराना नेताहरूको अवस्था २०६४ सालको जस्तै हुन सक्ने आशंका महतोनिकट नेताहरूले समेत व्यक्त गरेका छन्।
यसरी हेर्दा मधेस आन्दोलनबाट जन्मिएका र लामो समयसम्म मधेसको राजनीतिक केन्द्रमा रहेका तीन प्रमुख नेतृत्व उपेन्द्र यादव, सीके राउत र राजेन्द्र महतो तीनैजना यसपटक चुनावी जोखिममा परेको चित्र स्पष्ट हुँदै गएको छ। विभाजन, मतदाताको बदलिँदो मनोविज्ञान, नयाँ नेतृत्वको उदय र परम्परागत भोट बैंकमा परेको धक्काले मधेसको राजनीति नयाँ मोडमा पुगेको संकेत देखिएको छ।
यदि अहिले देखिएको लहर वास्तविक मतमा परिणत भयो भने मधेसको राजनीतिक नक्शा नै फेरिन सक्ने र पुराना शक्तिहरूलाई ठूलो झट्का लाग्ने सम्भावना प्रबल देखिएको छ।
